खुल्लम खुल्ला विषको कारोबार

by 11:04 PM 0 comments

पशु बधशाला र मासु जाँच ऐन ०५५ तथा नियमावली ०५६ ले भन्छ : पशु काट्नुअघि र काटेपछि मासु जाँच्नुपर्छ । बधशालामा मात्रै काट्नुपर्न र बेच्ने ठाउँ सफा हुनुपर्न । अनुमति लिएर खुलेका पसलले बिक्रि गर्न राखेको मासु पशु चिकित्सकले स्वास्थ्यवद्र्धक भनेर प्रमाणित गरेको हुनुपर्छ ।
ऐन अन्तर्गत बनेको पशु बधशाला र मासु जाँच प्राविधिक निर्देशिका ०६४ ले भन्छ : मासु पसलमा बिक्रि गर्नको लागि ल्याएको मासु बधशालामै काटेको हुनुपर्छ ।  वधशाला सम्पूर्ण रुपमा सुविधासम्पन हुनुपर्छ । मासु पसलभन्दा अलग्गै हुनुपर्छ भने बधशाला भन्दा १०० फिटको दुरीमा शौचालय र बाथरुम चाहिन्छ ।  वध गर्नुअघि पशुलाई कम्तीमा चौबीस घण्टासम्म विश्राम गर्न दिनुपर्छ, पानी दिनुपर्छ ।  पशुको तौल लिएर स्वास्थ्य परिक्षण गर्नुपर्छ ।  सफा ठाउँमा काट्नुपर्छ र काट्दाको अवस्थामा पनि मासुमा केही खराबी देखिएमा सरकारले तोकेको स्वास्थ्य परिक्षणकर्ताको सल्लाह अनुसार मात्र मासुलाई काट्ने वा फाल्ने गर्नुपर्छ । मासु बेच्ने, काट्ने तथा ओसारपसारमा संलग्न व्यक्तिले ६–६ महिनामा स्वास्थ्य परिक्षण गर्ने गरेको र निरोगिताको प्रमाणपत्र पाएको हुनुपर्छ । 
के तपाइको घर छेउ तथा तपाइले मासु किन्ने ठाउँमा व्यापारीले यी नियमहरु पालना गरेको पाउनुभएको छ ? पक्कै पनि छैन । मासु काट्नको लागि स्वस्थ बधशाला आवश्यक भएपनि न त काट्ने राम्रो ठाउँ छ, न त बेच्ने नै । कतिपय स्थानमा पशु बधशाला नै छैनन् । अझ मासुको गुणस्तर परिक्षण गर्ने कार्यलाई प्रभावकारी नबनाइँदा तपाइ हामी मासुको रुपमा विष खान बाध्य छौं त्यो पनि महँगो मुल्य तिरेर । जसले तात्कालिनका साथै दिर्घकालिन स्वास्थ्य समस्या निम्त्याउने गरेको छ ।
मासु चाँडो सड्ने वस्तु हो । घाम, पानीले यसलाई चाँडै असर गर्छ भने जीवाणुले पनि मासुमा चाँडो बढ्ने वातावरण पाउँछ । त्यसैले मासुको प्रयोग अन्य खानाको जस्तो सुरक्षित हुँदैन । त्यसमा पनि असुरक्षित र अस्वस्थकर मासु प्रयोग गर्नु भनेको जानि जानी काल निम्त्याउनु झै हुन्छ । पुर्वी नेपालका शहर तथा स्थानिय बजारहरुमा बेचिने मासुहरु अस्वस्थकर छन् । बाटो छेउमा काटिने मासु स्वास्थ्यको लागि प्रतिकुल हुन्छ । बधशाला त परकै कुरा भो, एउटै कोठामा पशु काट्ने, झुण्ड्याउने, मासु टुक्र्याउने, तौल लिने र बेच्ने काम गरिन्छन् । जुन स्वास्थ्यको दृष्टिले हानिकारक हो । कोठामै काटिएको भएपनि काटिएको पशुको स्वास्थ्य कस्तो थियो, कस्तो ठाउँमा मासु काटियो, मासु काटिसकेपछि कस्तो ठाउँमा भण्डार गरियो, कस्तो पानीले पखालियो भन्ने जस्ता कुराहरुमा ध्यान पु¥याउन तथा स्वस्थ मासु किनेर लगिसकेपछि पनि उचित तरिकाले नपकाइएमा र भण्डार नगरेमा दीर्घकालिन रोगको समेत शिकार हुन सकिन्छ ।
स्थानिय प्रशासनको लापरवाहीका कारण मासु पसलहरु अनुशासनमा छैनन् । पैसा कमाउने धुनमा मरेका सिनोाई समेत मासु भन्दै बेच्ने गरेका कुराहरु नौला रहेनन् । दशैंके मुखमा राजधानी काठमाडौ लगायत देशभरका विभिन्न स्थानमा गरिएका खाद्य परिक्षण र चेकजाँचले देखाएको नतिजाले नै उपभोक्ताहरु मासु र मासुजन्य खाद्य पदार्थको उपभोगमा सुरक्षित छैनन् भन्ने पुष्टि गरिसकेको अवस्थामा सचेत हुनु आवश्यक छ ।
मासु उपभोग गर्दा विचार गर्नुहोस् :
स्वस्थ पशु हो ?
मासु व्यवसायी र उपभोक्ताले पशुको अवलोकन गरेर रोगी र निरोगी छुट्याउन सक्छन् । अधिकांश पशुले नियमित रुपमा खाएको खाना उग्राउने गरेको पाइन्छ । यदि, पशुले उग्राउने कार्यनगरेमा, पशु काम्ने गरेमा, ¥याल चुहाइरहेमा, आँखाबाट चिप्रा निकालेमा र राम्ररी हिँडडुल गर्न नसकेका पशु रोगी मानिन्छन् । यस्ता पशु बध गरेर त्यसको मासु उपभोक्तासामु पु¥याउनु भनेको मानिसलाई मन्द विष दिनुजत्तिकै हो । पशु बधशाला र मासु जाँच ऐन ०५५ र निर्देशिकाका अनुसार त पशुको स्वास्थ्य परिक्षण गरेर निरोगी पशुलाई मात्र बध गरी उपयोग गर्नुपर्छ ।
राम्रो ठाउँमा काटिएको/राखिएको हो ?
काटिएको पशुको मासु सफा पानीले सफा नगर्न, ढुवानी गराउने साधन उपयुक्त नहुने, मासु राख्ने ठाउँ सफा नहुने र मासुलाई धूलो र झिँगाबाट जोगाउन रातो कपडाले छोपेर नराख्ने हो भने उक्त मासु अशुद्ध हुने गर्छ । निर्देशिकाले बध गरिएको पशुको मासु सफा र माइनस ४ डिग्रीको चिस्यानमा राख्नुपर्ने जनाएको छ । निर्देशिकाल मासु काट्ने तथा राख्ने स्थान केहि फराकिलो र स्वच्छ हावा आवत जावत गर्ने हुनुपर्छ भनेको छ भने विभिन्न कार्यको लागि  छुट्टै कोठा आवश्यक पर्छ समेत भनेको छ ।
तर नियमको पालना कहिँ कतै गरिएको छैन । सुनसरीमा पनि स्वस्थकर मासु वितरण गर्ने स्थान निकै थोरै छन् । तर तीनले पनि पूर्ण रुपमा नियम पालना गरेका छैनन् । अझ सुनसरीको भासी स्थित झुम्का तथा पकली आसपास सडक किनारमा पशु काटिन्छ भने एउटै टेबलमा खुला आकाशमुनि मासुको काटमार र बिक्रि वितरण हुने गरेको छ । पुर्वाञ्चलकै व्यापारिक नगरको रुपमा विकसित हुँदै आएको इटहरीमा समेत स्वस्थ तरिकाले मासु बिक्रि गर्ने स्थान छैनन् । एकाध पसलले बन्द कोठामा व्यवस्थित गर्न खोजेका छन्, तर पनि पशुको स्वास्थ्य परिक्षण, लगायतका विषयमा उनीहरु त्यती सचेत छैनन् ।
किनेर ल्याएको मासु प्रयोग गर्नेले पनि कम्तिमा पशु बध गरेदेखि १२ घण्टासम्मको लागि फ्रिजमा राखेर मासुको उपयोग गर्न सक्छ । फ्रिज प्रयोग नगर्ने हो भने १ घण्टाको लागि मात्र मासु खान योग्य हुन्छ ।
राम्रोसँग पकाइएको हो ?
पोलेको र थोरै समय मात्र पकाएको मासुका परिकार जस्तो सेकुवा, छोएला आदिमा रोग लाग्ने कीटाणु जीवितै हुने सम्भावना बढी भएकाले अन्य परिकारको तुलनामा सेकुवा र छोएला स्वास्थ्यका दृष्टिले बढी हानिकारक हुन्छ । मासु पकाउँदा प्रेसरकुकरमा उच्च तापमा राम्ररी पकाएको मासु पकाउन आवश्यक हुन्छ । 
मासुलाई राम्ररी नपकाउँदा मासुमा हुने परजीवी नमर्न र त्यस्तो मासु खाँदा मानिसको मस्तिष्कलगायत शरीरका अन्य भागमा हानि पु¥याइ रोगी बनाउने गर्छ । त्यस्तै फोहोर ठाउँमा काटिएको र तौलिएको तथा भण्डारण गरीएको अस्वस्थकर मासुको अत्यधिक प्रयोगले दीर्घकालीन रुपमा हुने अल्सर, उच्च रक्तचाप, मुटुरोग, तल्लो आन्द्राको रोग, मृगौलाले काम नगर्ने, क्यान्सरजस्ता रोग देखा पर्ने विज्ञहरुको भनाई छ । 
असुरक्षति स्थानमा काटिएको मासुका कारण झाडापखाला, आउँ, फुडप्वाइजनलगायतका समस्या तत्काल नै देखिन सक्छन् । चिकित्सकका अनुसार मासुबाट विभिन्न रोग मान्छेमा सर्ने गर्छ र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा मानव स्वास्थ्यमा असर परिरहेको हुन्छ । इ.कोलाई, क्याम्पाइलोब्याक्टर, एरसेनिया जातका जीवाणु विशेषगरी अस्वस्थ मासुको माध्यमबाट नै सर्छ । त्यस्तै, अन्य रोगमा सिस्टिसिर्कोसिस, बरुसेल्लोसिस, हाइटेडोसिस आदि पर्छ । त्यसैकारण यी र यस्ता जीवाणु, विषाणु एवं परजीवीलाई रोक्नका लागि मासु एवं मासुजन्य पदार्थ उत्पादनको दौरान विभिन्न चरणमा प्रभावकारी ढंगको चेकजाँच लागू गरे मात्र स्वच्छ एवं स्वस्थ्य मासुको ग्यारेन्टी गर्न सकिने चिकित्सकको धारण रहेको छ ।
स्वस्थकर मासु प्रयोग गर्न पाउने गरी बनेका ऐन तथा नियम र निर्देशिकाकै खिल्ली उडाउने गरी मासु व्यवशायीहरुले मासु बेचिरहँदा स्थानिय निकायहरु भने मौन छन् । न त पशु कार्यालयले यस विषयमा कुनै कदम चालेको छ, न त स्थानिय निकायहरुले नै । 

Neplee

Developer

लेखहरुप्रति तपाईको टिप्पणीलाई स्वागत गर्छु ।

0 comments:

Post a Comment