तीन पुस्ता हल्लाउने ६१ वर्षिया डन

by 4:42 PM 0 comments
‘उमेरले डाँडा काटेपनि रगत त अझैपनि तातो छ,’ ६१ वर्षिया धनकुमारी लुईटेलले भनिन्, ‘म यी सबैकी डन हुँ ।’ उनले यसो भन्दा कलालयमा उपस्थित उनकी बुहारी र नातिनीसहित उनीहरुकै उमेरका डेढ दर्जन महिलाहरु हाँसे । उनीहरु धनकुमारीको खिल्लि उडाउँदै थिएनन्, बरु सहि थाप्दै थिए ।
वृद्धा उमेरमा पनि आफ्नी नातिनी रेणुकला र बुहारी कृष्णकुमारीसँगै कलालय इटहरीमा अभिनय सिक्नको लागि आउन थालेकी छिन् । बोलीमात्र होइन, उनको अभिनय सिक्ने चाहनामा समेत फूर्ती छ । अधिकांश सासुहरु बुहारीलाई घरभित्रै कज्याएर राख्न चाहन्छन्, तर उनले भने बुहारी र नातिनीलाई समेत सँगै अभिनय सिक्न प्रोत्साहित गरेकी छिन् । ‘मेरा उमेरमा मेरो ठाउँमा यस्तो कसैले सिकाउँदैनथे,’ दुई वर्ष अघि मात्र इटहरी आएकी उनले भनिन्, ‘म आफ्ना छोरीबुहारी र नातिनीहरुलाई हौसला दिन आएकी हुँ ।’
लुईँटेल र कोइरालासँगै १२ जना भन्दा बढी महिलाहरु अहिले तीजको तयारीका लागि नाटक प्रशिक्षणमा सहभागि छन् । धेरै महिलाहरुले गरगहनाको प्रदर्शनी गर्दै रमाइलो गर्ने पर्वका रुपमा मात्रै तीज मनाउँदै आएकोसमयमा उनीहरु भने सामाजिक सन्देश दिने नाटक प्रदर्शन गर्ने भन्दै कस्सिएका हुन् ।

इटहरीका दुई वटा सामाजिक संस्थाहरु जागरण महिला समुह र महिला सीप विकास तालिम केन्द्र मिलेर यो पटकको तीजमा चेतनामुलक नाटक गर्ने मनाउने क्रममा दैनिक प्रशिक्षण लिइरहेका छन् । ‘महिला अधिकारको पक्षमा सन्देश दिने तथा सामाजिक विकृतीलाई कम गर्ने सन्देश दिने नाटकको प्रदर्शनीको लागि अभ्यास थालेका हौं,’ जागरण महिला समुहकी अध्यक्ष निर्मला चौधरीले भनिन्, ‘महिलाहरुमा सामाजिक भावनाको विकास गर्दै महिलाहरु समेत सक्षम छन् भनेर आँट दिने विषयवस्तुको नाटक प्रदर्शन गरेरै छाड्छौं ।’
पाँच दर्जन बढी बालबालिकाहरुलाई प्रशिक्षण दिइ नाटकको नयाँ पुस्ता तयार गरिरहेको कलालयलाई महिलाहरुको यस्तो सहभागिताले थप उत्साहित बनाएको कलालयका अध्यक्ष सोनु जयन्तीले बताए । महिलाहरु आफै जागरुक भइ यसरी नाटक सिकेको यो पहिलो घटना भएको  बतााउँदै उनले नाटकलाई तीज पछि पनि निरन्तरता दिन सकेमा इटहरीको कला क्षेत्रमा एउटा नयाँ अध्याय थपिने उनले दावी गरे ।

Neplee

Developer

लेखहरुप्रति तपाईको टिप्पणीलाई स्वागत गर्छु ।

0 comments:

Post a Comment