कुनै समय इटहरीका चोक र गल्लीमा नेताहरुको बोली टिप्दै समाचार रोप्ने उनी हिजोआज इटहरीवासीको मनमा इमान्दार राजनीतिको सपना रोप्न व्यस्त छन् । उनले मञ्चमा उभिएर भाषण गरे, ‘अब इटहरीलाई इमान्दार नेतृत्व चाहिएको छ, त्यो नेतृत्वको लागि हामी तयार छौं ।’
यसरी मञ्चमा उभिएर भाषण गर्नको लागि पृष्ठपोषक रह्यो, उनी आबद्ध साझा पार्टी नेपाल । साझा पार्टीको चार खम्बा नै छन्, पद्धती, पारदर्शीता, इमान्दारि, उत्कृष्ठता । चार खम्बामा टेकेर उभिएको उनको पार्टी र उनी आजभोलि बिहानैदेखि आफूलाई गाउँ टोलदेखि सञ्चारमाध्यमसम्म पुगेका छन् ।
‘तर अब पनि ढिलो गरियो भने र नेपालको समृद्धिको मार्ग छाडियो भने यस्तै रहीरहन्छ भनेर म काँग्रेस छाडेर साझा पार्टीमा आबद्ध भएँ ।’ उनले साझा पार्टीका संस्थापकहरुको पहिलो बैठकमा उद्घोष गरे, ‘यो राष्ट्रिय समृद्धिको महायज्ञ हो ।’
उनी साझा पार्टीमा आबद्ध भएको धेरै भएको छैन । साझा पार्टी बनाउनको लागि अहिलेका केन्द्रिय संयोजक रविन्द्र मिश्रले बीबीसीमै छँदा नै छलफल चलाइसकेका थिए । ‘मेरो विषयमा वहाँलाई सबै कुरा थाहा थियो,’ उनले भने, ‘पछि प्रस्ताव आयो, मैले पनि धेरै सोचेर निकै पछि निर्णय दिएँ ।’
परियारको लागि साझा पार्टीमा जानु सजिलो थिएन । एउटा आम मानिस वा आम पत्रकार भएको भए खासै गाह्रो हुँदैनथ्यो होला । तर उनी त नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाको अत्यन्त निकट थिए । उनको ट्वीटर ह्याण्डल नै सञ्चालन गर्थे परियार । यस्तै नेपाली काँग्रेसको पार्टी निकट अनलाइनको प्रधान सम्पादक थिए उनी ।

दुई चार महिनापछि नै प्रधानमन्त्री बन्दै गरेका आफ्ना नजिकका नेताको साथ छाडेर उनी नयाँ राजनीतिक पार्टीमा आबद्ध भइरहँदा उनलाई गलत गर्यो भन्ने मान्छेहरुको कमी थिएन । उनी २०७२ सालमा नेपाली काँग्रेसको सुनसरी क्षेत्र नं. २ को महाधिवेशन प्रतिनिधि पनि थिए । नेपाली काँग्रेसमै रहेर उनले राजनीति गर्न सक्थे । तर उनले पार्टी परिवर्तन गरे ।
‘पछुताउँछ भन्नेहरु निकै थिए,’ उनी भन्छन्, ‘तर केहीले पढेलेखेको मान्छे, स्वविवेकले गयो भन्नेहरु पनि थिए ।’ तर उनी व्यक्तिगत रुपमा दुःख पाएपनि राष्ट्रिय समृद्धिको ईँटा थप्न सकेमा सन्तोष मान्ने बताउँछन् । त्यसै पनि उनलाई राजनीतिमा लागिसकेपछि आफ्नो आम्दानी घट्ने चिन्ता छैन । ‘श्रीमतीको जागिरले पनि सहयोग गरेको छ, त्यसमाथि संयुक्त लगानीको सञ्चार उद्यमले पनि सहयोग गर्छ,’ फजुल खर्चहरु नगर्ने गरेको बताउँदै उनी भन्छन्, ‘राजनीतिलाई कमाउ धन्दा बनाउनु हुँदैन ।’
‘हामी ढिलै आएपनि राजनीतिक दलको मुटुमा ढ्यांग्रो ठोकिइसकेको छ ।’ आफुहरु कसैलाई हराउन वा जिताउन आएको नभइ जनताको मन र मत जितेर इटहरीको विकास गर्न आएको बताउँछन् ।
पत्रकारितामा स्नातकोत्तर गरेका र अमेरिका तथा अष्ट्रेलियाबाट पत्रकारिता र नेतृत्व विषय पढेर आएका परियार कान्तिपुर टिभीका ब्युरो प्रमुखको जिम्मेवारी निभाइसकेका समेत भइसकेका व्यक्ति हुन् । उनी नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य समेत भए भने उनले भारतको प्रसिद्ध अम्बेडकर पुरस्कार समेत पाएका छन् ।
उनको अहिलेसम्मको यही पेशा र पेशाप्रतिको इमान्दारिताले निष्ठाको राजनीति गर्न सक्ने खुबी बनाइदिएको छ । त्यसैले पनि उनको उम्मेदवारीलाई इटहरीवासीले पनि निकै चासो दिएर हेरेका छन् ।
परियारलाई नेपालको राजनीतिले निकै चिन्तित बनाएको छ । वर्षौंपछि पनि पहिलेका नेताबाट देश बन्नेमा ढुक्क हुने ठाउँ उनले देखेनन् । राम्रो बाटो देखाउन राजनीतिक दलको परम्परागत ढर्रा र खराब राजनीतिलाई सुधार गर्नुपर्ने उनको भनाई छ । स्थानिय तहमा इमान्दार मान्छे आएमा विकास र समृद्धि छिटो हुने उनको अनुभव छ । ‘त्यसैले मैले इटहरीको उपमेयर र डा. तारा काफ्लेले मेयरमा उम्मेदवारी दिएका छौं,’ उनी भन्छन्, ‘हामी ढिलै आएपनि राजनीतिक दलको मुटुमा ढ्यांग्रो ठोकिइसकेको छ ।’ आफुहरु कसैलाई हराउन वा जिताउन आएको नभइ जनताको मन र मत जितेर इटहरीको विकास गर्न आएको बताउँछन् । अनि भन्छन्, ‘समृद्धि सम्भव छ, हाम्रै पालामा ।’
‘चुनाव प्रचारको क्रममा हामीले स्वतःस्फूर्त आएका स्वयंसेवक परिचालन गरेका छौं, कुपन बाँडेर खाना खुवाउने हैसियत पनि हाम्रो छैन,’ उनी भन्छन्, ‘तर इटहरीवासीहरुको विवेक र चेतनास्तर निकै बढेको छ, खर्च गर्नेभन्दा पनि इटहरी बनाउने विचार र व्यक्तिलाई जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु ।’

साझा पार्टीको केन्द्रिय संयोजन समितिका सदस्यसमेत रहेका परियार जितेपछि आफूले गर्नुपर्ने कामको जानकारी र अनुभव दुवै भएको बताउँछन् । ‘उपमेयर भइसकेपछि न्यायिक समितिको संयोजकको रुपमा भूमिका निर्वाह गर्नुपर्छ,’ उनी भन्छन्, ‘लामो समय न्याय, समावेशीकरण, मानवअधिकारको क्षेत्रमा पत्रकारिता र पत्रिकारिताबाहिरबाट पनि काम गरिसकेकोले यो काम मेरो लागि नयाँ होइन,’ उनी थप्छन्, ‘कानुन र मानवाधिकारको लागि छुट्टै मानिस राखेर राज्यकोषको रकम सक्नुपर्ने आवश्यकता छैन ।’ उनी जितेर गएपछि पहिलो कामको रुपमा सामाजिक न्याय तथा मानवअधिकार मर्यादा महाशाखा स्थापना गर्ने योजनामा छन् ।
न्यूजलयबाट साभार
0 comments:
Post a Comment