हाम्रा बुद्ध र हामीभित्रको बुद्धत्व

by 11:00 PM 0 comments
भूकम्पको त्रास घटेकै छैन किनकी भूकम्पले हल्लाउन छाडेकै छैन । आज बिहानै पनि एक पटक धक्का दियो । कति रेक्टरको भूकम्प गएछ भनेर हतपत ट्वीटर खोलेँ । ४.४ म्याग्निच्युडको भूकम्प गएछ ।
आज बुद्ध जयन्ती, बुद्धले पहिलो पटक नेपालको लुम्बिनीमा पाइला टेकेको दिन । नेपालमै बुद्ध धर्म मान्नेहरुको संख्या तुलनात्मक कम छ तर शान्तीका प्रतिक बुद्धप्रतिको आस्था नेपालमा अत्याधिक छ । शायद छिमेकी भारतले बुद्ध आफ्नो भूमीमा जन्मेका हुन् भनेर बारम्बार प्रचार गरेकोले पनि नेपालीमा यस्तो भावनाको वेग तीव्र बनेको हुनुपर्छ ।
हामी नेपालीले आफ्नै बलबुताले बनाएको र गर्व गर्न लायक खासै केही छैन । एकाध किर्तीमान र गोर्खाली सेनाले हाम्रो नयाँ पहिचान बनाएका छन् अनि हाम्रो मेहेनत, इमान्दारिता र सहयोगि भावनाले नेपाली भनेर हामीलाई गर्व गर्नसक्ने ठाउँ दिएको छ । यस्तोमा हामीलाई हाम्रो ठाउँमा जन्मेका बुद्ध प्यारा छन् । उनीमाथिको कुनै विदेशीको दावी अस्वीकार्य छ ।
त्यसैले त बुद्ध नेपालमा जन्मेका हुन् भनेर कसैले भन्दिदाँ खुसीले टेबुल ठटाउँछौं, अनि बुद्ध भारतमा जन्मेका हुन् भनेर कसैले भन्दिने बित्तिकै हाम्रो रगत तात्छ । तर भारतीय भूमीमा नक्कली लुम्बिनी बनिरहेको बारेमा न त राजनीतिक वृत्तबाट कसैले आवाज उठाउँछ, न त प्रभाव देखाउन सक्ने ठूला मिडियाले नै त्यसलाई प्राथमिकताका साथ छाप्न सक्छन् । दुई चार जना बोल्छौं, विषय पोखिएको एक चम्चा तातो पानी झैँ तुरुन्तै सेलाउँछ ।
हिजो विश्व प्रेस स्वतन्त्रताको दिन हिजो एउटा गज्जब घटना भयो । बुद्ध भारतमा जन्मेका हुन् भन्ने अफवाह फैलाउन सहयोग गर्ने तिनै भारतीय मिडियाहरुको अन्तर्राष्ट्रिय बेइज्जत भयो । ट्वीटरमा सुरु भएको ट्रेन्डले भारतीय मिडियाले सही सुचना दिइरहेका छैनन्, सानो कुरालाई पनि बढाइचढाइ गर्छन् र विपद्बाट आत्तिएको मानिसको भावनासँग पनि खेलवाड गर्छन् भन्ने सन्देश विश्वमाझ पुगेको छ । भारतबाट पनि ट्रेन्ड सुरु भयो, जसले नेपालको ट्रेन्डलाई सपोर्ट गर्यो ।
भारतीय मिडियाको आलोचना भारतमै हुने गर्छ । भारतीयहरु भन्छन्, ‘भारतीय मिडिया त्यो मिडिया हो, जो एउटा किसानले आत्महत्या गरेको खिँचेर एक्स्क्लुसिभ भनेर बजाउँछ, तर उसलाई आत्महत्या गर्नबाट रोक्न अघि सर्दैन ।’
साँच्चै भारतीय मिडियाकर्मीहरु मेसिन भए, मानिस भएनन् । उनीहरुको चिडचिडाहट र एउटै कुरालाई बारम्बार दोहोर्याउने तुक बिनाका खबर र प्रसंगको प्रतिवाद नेपालले गर्यो । यसको सकारात्मक, नकारात्मक असर भोलिका दिनमा देखिनेछन्, तर हामी हामीले जे गर्यौं, त्यो आवश्यक थियो भन्ने कुरामा दृढ छौं ।
हामीले त्यही गर्यौं, जुन गर्नुपथ्र्यो। अनि त्यसरी नै गर्यौं, जसरी बुद्ध र गान्धीले गर्नु भन्थे । राम्रा विचारहरु कुनै परिधिभित्र गुम्सिदैनन् । गान्धी भारतीय होलान्, तर उनका विचार बुद्ध विचार हो, बुद्ध विचार नै नेपालीको विचार हो । कसैको विरोधमा नबोल्नु बुद्धपथ हुँदै होइन, बरु शान्तीपूर्ण र न्यायपूर्ण तरिकाले असल समाजको निर्माण गर्न पहल गर्नु बुद्ध पथ हो ।
अब हामीले गर्नुपर्ने केही काम छन्, भर्खरै भूकम्पबाट ध्वस्त भएका छानोहरु बनाउनु छ, भत्किएका मनहरु जोड्नुछ । दुःखलाई जति चाँडो बिर्सन सकिन्छ, नयाँ र सुन्दर भविष्यको रेखा त्यती नै चाँडो कोर्न सकिन्छ । ढिलो गर्न भएकै छैन । अरुका दुःखेका घाउमा मल्हम लगाउँदै गर्दा हामी पनि पीडा भुलेर आजै, अहिल्यै रमाउनु छ । सधैं दुःख सम्झेर बसियो भने त्यो अन्धकारतिर गयो । बुद्ध त ज्योति हो । ‘लाइट अफ एसिया’ त्यसै भनिएको होइन । त्यसैले हामी उज्यालोतर्फ आजै अघि बढ्नुपर्छ ।
भलै नेपालमा बुद्ध धर्म मान्नेको संख्या थोरै छ, बुद्धले भनेको जस्तो संघमा नहौंला, तर बुद्धको जस्तो शान्ती, प्रेम र सहयोगको भावना हर एक नेपालीको मनमा छ । हाम्रो संस्कारमा बुद्धत्व छ । हाम्रो मनमा बुद्धप्रेम छ । बुद्धले हामीलाई हाम्रो हर एक समस्यामा मार्गदर्शन दिइरहुन् । नेपाल बनाउन र नेपाली पहिचान जोगाउन हामीलाई बल मिलोस् ।
बुद्धम् शरणम् गच्छामी ...

 Photos by : Barbara Weibel

Neplee

Developer

लेखहरुप्रति तपाईको टिप्पणीलाई स्वागत गर्छु ।

0 comments:

Post a Comment