नजानेर धेरै गर्यौं, अब जानेरै केही गरौं

by 1:22 AM 0 comments

अरुले केही गरिदेला भनेर आशा गर्नु बेकार छ । नयाँ सम्भावना छ भने त्यसमा लगानी, विकास र प्रचारप्रसारका लागि स्थानियहरु नै सक्रिय हुनुपर्छ । तर यसरी काम गर्दा मिलेर गर्नुपर्छ । इलामले पाँचथरलाई सहयोग गर्नुपर्छ, ताप्लेजुङबाट झापाले लाभ लिन सक्नुपर्छ ।

इलाम मेरो मनपर्ने ठाउँ मध्येको एक हो । तराइको गर्मीमा सेकिएको जिउ दुई चार घण्टा खर्चेर उकालो

चढ्नेबित्तिकै चिसो हुस्सु कुहिरोमा छोपिन पाएपछि किन मन नपरोस् ? त्यहाँमाथि माटो नदेखिने उर्बर भूमी अनि चिया बगान । इलाम त्यो भाग्यमानी ठाउँ हो, जसले घामको कुमारी झुल्कोसँग अंकमाल गर्न पाउछ ।

 त्यसैले कहिले समुहमा त कहिले एक्लै मौका मिलेसम्म म त्यहाँ पुग्ने गरेको छु । समुहमा घुम्नु त रमाइलो हुन्छ नै, विना योजना एक्लै लुखुर लुखुर हिड्नुको पनि आफ्नै मजा छ ।

भारतको सिक्किम, दार्जेलिंग झैँ भुगोल र हावापानी भएको ठाउँ हो इलाम । म केही अघि दार्जेलिङ पुग्दा युरोप र अमेरिकाबाट आएका पर्यटकहरुको बाक्लो उपस्थिती देखेको थेँ, जबकी त्यतीखेर गोर्खाल्याण्ड आन्दोलनले पुरै पश्चिम बंगाल तातेको थियो । दार्जेलिंगको तुलनामा इलाममा विदेशी पर्यटक कमै देखिन्छन् । त्यसका धेरै कारणहरु छन् ।

भरपर्दो गन्तव्यका रुपमा आफूलाई प्रमाणित गर्न इलाम सक्षम भइसकेको छैन । इलामबजार छेउछाउका पर्यटकीय स्थलसम्म पुग्ने बाटो, पानीलगायतका पूर्वाधारको अझै अभाव छ । सिक्किम, दार्जेलिङमा भएजस्तो भौतिक संरचना र पर्यटक भुलाउने विकल्पहरु पनि धेरै छैनन् । तथापी सिजनमा इलामका होटलहरु लगभग भरिएको देखेको छु । त्यसैले अभावै सही, आउनेहरु त आइहाल्छन् । पर्यटकको स्वागतमा इलामवासीले सक्दो गरी पनि रहेका छन् ।

इलामको पर्यटन विकासमा अहिलेसम्म स्थानियले जे गरेका छन्, त्यो जानेर गरेका होइनन् । पर्यटक आए, सुत्ने व्यवस्था गरिदिँदा लज खुल्यो । खाने व्यवस्था गरिदिँदा होटल चल्यो । अनि चियाबारी घुम्न रुचाएका पर्यटकको लागि चियाबारी घुम्ने बाटोहरु बनाइए । तर अब भने जानेरै केही गर्नुपर्ने बेला भएको छ ।

नयाँ नयाँ जलविद्युत् आयोजनाहरु इलाममा बनिरहेका छन् । निर्माणाधिन विमानस्थल बनिसकेपछि पानीको सामान्य अभावलाई छाडेर इलामसँग आवश्यक आधारभूत पूर्वाधारहरु सबै परिपूर्ण हुनेछन् । त्यसमाथि स्थानिय व्यवशायीहरुको योजना, लगानी र मेहेनत त छँदैछ ।

केही समयअघि इलाममा आयोजित होटल व्यवशायीको पूर्वाञ्चल स्तरीय भेलामा पुग्ने मौका मिल्यो । पर्यटन विकासको लागि लगानी र स्थानियको योजना र उत्साह तारिफयोग्य थियो । सुनसरी, मोरंग, झापा, धनकुटामाभन्दा स्तरीय होटलहरु इलाममा खुलेका छन् । आजभोलिको मौसम, त्यसमाथि भुकम्पको थर्थराहट शुन्य नभइसकेको समयमा पनि आशाका प्रशस्त धर्काहरु इलामेलीको अनुहारमा देखेँ ।

ठूलो लगानीमा होटल खोल्ने इलामका तुलबहादुर देवानलाई मैले सोधेँ, ‘यत्तिको लगानी गरेर होटल खोल्नुभाको छ, व्यापार चाहिँ कस्तो छ त ?’ उनको स्पष्ट उत्तर यस्तो थियो, ‘हरेक कुरा व्यापार र नाफाको लागि मात्र हुँदैन । म इलाममा जन्मेको मानिस, इलामबाट तीन किलोमिटर टाढा गाउँमा मेरी आमाले बगाएको रगत अझैपनि त्यही माटोमा छ भने इलामको लागि मैले नगरे अरु कसले गर्छ ? नाफा विस्तारै होला, पहिले त हामीले सेवा दिनुपर्यो ।’

हो, हामीले आफ्नो जन्मभूमीको लागि नगरे कसले गर्ने ? ठूला लगानीकर्ता त बलेको आगो ताप्छन् । सरकारले बाटो बनाइदियो भने, ठूला आयोजना चल्ने भयो भने सम्भावनाका आधारमा जहाँ तुरुन्त नाफा कमाइन्छ, त्यहाँ लगानी गर्छन् ।

इलामबाट फर्केपछि पश्चिम नेपालमा सक्रिय केही व्यवशायीसँग कुराकानी गरेर पूर्वको पर्यटन सम्भावनाबारे बताएको थिएँ । प्रत्युत्तरमा उनीहरुले सम्भावनाबारे नकारेनन्, तर विकास हुनुभन्दा शान्त नै सुन्दर हुन्छ भन्ने जवाफ दिए । उनीहरु अलिअलि आइरहेका पर्यटक पनि पूर्व लाग्छन् कि भनेर डराएकोजस्तो लाग्यो ।

त्यसैले अरुले केही गरिदेला भनेर आशा गर्नु बेकार छ । नयाँ सम्भावना छ भने त्यसमा लगानी, विकास र प्रचारप्रसारका लागि स्थानियहरु नै सक्रिय हुनुपर्छ । तर यसरी काम गर्दा मिलेर गर्नुपर्छ । इलामले पाँचथरलाई सहयोग गर्नुपर्छ, ताप्लेजुङबाट झापाले लाभ लिन सक्नुपर्छ ।

सानो उदाहरण, ताप्लेजुङको पाथीभरा देवीको मन्दिरको लागि नेपालभर र भारतबाट पनि धेरै तीर्थयात्रीहरु आउँछन् । मन्दिरको लागि संकलन हुने दान दक्षिणाको राम्रो सदुपयोग हुने हो भने सिंगो ताप्लेजुङलाई एउटै मन्दिरले झलमल बनाउन सक्ने सम्भावना छ । तर त्यहाँ पुग्न मानिसहरु झापा, इलाम, पाँचथर हुँदै पुग्नुपर्छ ।

त्यसक्रममा त्यहाँ रहेका सबै होटल, यातायात व्यवशायीहरु सबैको सहयोग हुनुपर्छ । झापामै पर्यटकलाई अभद्र व्यवहार भयो भने त्यो पर्यटक ताप्लेजुङ पुगिसक्दा उसको उत्साह मरिसक्छ र फेरी फर्केर त्यही ठाउँमा आउनुपर्दा बारम्बार सोच्छ । त्यसैले एकीकृत विकास चाहिन्छ, एकीकृत प्रयास चाहिन्छ ।

यो मामलामा काठमाडौ र पोखराका व्यवशायीहरु अगाडी छन् । काठमाडौ, पोखरा र चितवनलाई मिलाइ गोल्डेन ट्रेंगल बनाएर व्यवशाय गरिरहेका व्यवशायीहरु भुकम्पबाट काठमाडौ भत्कनेबित्तिकै लुम्बिनीलाई अघि सारेका छन् । पूर्वमा पनि त्यस्तै एकीकृत प्रयासको खाँचो छ । किनकी पर्यटकहरु इलाम घुम्न आउँदा चियाबारी मात्रै हेरेर फर्किँदैनन् ।

चियाबारी हेरेर त कन्यममै अघाइसकेका हुन्छन् । उनीहरुलाई घुम्न सकिने थप ठाउँहरुको रुट दिन सक्नुपर्छ । बास बस्न इलाम पुगेको पर्यटक पाथीभरा मन्दिर पुगेर फर्किँदा फिदिममा बास बसोस् । गाडी झापाबाट लगोस् । ट्राभल कम्पनि सुनसरी वा मोरंगको भए भने एउटा पर्यटकबाट चार वटा जिल्लाले लाभ लिन सक्छ ।

अरु जिल्लाका सम्भावनाको पनि खोजि गरियोस् । हलेसीको गुफा, अनि धनकुटामा रहेको दक्षिण एसियाकै ठूलो वरको रुख आकर्षणको केन्द्र बन्न सक्छन् । अहिलेसम्म सोलुखुम्बुमा पूर्वको भन्दा पनि काठमाडौंको छिटो पहुँच छ । त्यसो भए पश्चिम बंगाल र बिहारका पर्यटकहरुलाई आकर्षित गरेर सगरमाथाको फेदीसम्म किन नलाने ? हामीले प्रचारप्रसार गर्न र लगानी गर्न जरुरी छ ।

इलाममा सहभागि कार्यक्रममा कसैले भनेको थियो, भारतका यी दुई राज्यका सरकारी कर्मचारीलाई उनीहरुको विदामा नेपाल घुम्न मात्र आकर्षित गर्न सकियो भने पनि पूर्वलाई अरु पर्यटक नै चाहिँदैन । त्यसो भए, भारतीय मिडियामा प्रचार प्रसार गरौं, प्रत्यक्ष अभियान चलाऔं ।

यहाँका होटलहरुले आफ्नो होटलको नाम दिएर विदेशमा आफ्नो ठाउँको प्रचार गर्दा त्यसबाट केही न केही प्रतिफल आउँछ । इटहरीका व्यवशायी रविन गौतम र धरानका व्यवशायी बासु बरालको एक स्वर छ, ‘हाम्रो मार्केट चिनेर त्यहाँ पुगेर प्रचार प्रसार नगरेसम्म लगानीबाट प्रतिफल लिनै सकिँदैन ।’

त्यसो त विज्ञापन तथा प्रचारप्रसारलाई खर्च मानेर त्यसलाई नकार्ने चलन छ । तर त्यो चालु खर्च होइन, लगानी हो ।

गर्न धेरै छ, त्यसैले हिजोसम्म नजानेर गरियो भने अब जानेर केही गरौं । प्रत्येक जिल्लामा पर्यटकीय सम्भावना बोकेको नेपालको पर्यटन आजसम्म राजधानीसहित पश्चिम नेपालका तीन वटा जिल्लामा मात्र केन्द्रित भयो । त्यहाँबाट माथि उक्लेर केही अन्नपूर्ण पदयात्रामा पुग्यो भने केही लुक्ला र खुम्बु आसपास घुम्यो । अनि मनाङ र मुस्ताङमा पनि थोर बहुत पर्यटक पुगे । अब अरु ठाउँ पनि जाउन् । काठमाडौ, पोखरा वा सौराहा थला पर्ने बित्तिकै देशकै पर्यटन थला नपरोस् ।

पर्यटनको विकासबाट समग्र देशकै मुहार फेर्न सकिने सम्भावनाका बावजुद हाम्रो देशको नीति निर्माण तहमा वा काम गर्ने ठाउँमा इमान्दार र भिजन भएका मानिस पुग्नै सकेनन् । पर्यटन विकासका लागि स्थापित पर्यटन बोर्ड सबैभन्दा भ्रष्टाचार गर्ने अखडा बन्यो । धेरै हाकिम फेरीए तर पर्यटन विकासको नाममा पार्टी र कार्यकर्ता पोस्ने बाहेक केही काम भएन । पूर्वमा पनि सरकारी तहबाट बनाइएका समितिहरु भत्ता पचाउने ठाउँ मात्र बनिरहेको छ ।

पर्यटन आफैमा वृहत् विषय हो । यो रोजगारीसँग जोडिन्छ । पर्यटनलाई कृषिसँग पनि जोड्न सकिन्छ । जसबाट सेवामुलक पर्यटनसँगै उत्पादनमुलक कृषि पनि फस्टाउँछ । हस्तकलासँग जोडेर पर्यटकहरुलाई नेपाली सजावट र कला सामाग्री बेच्न सकिन्छ । शिक्षासँग पनि पर्यटनको राम्रो तालमेल मिल्छ । नेपालमा विभिन्न विषय पढ्नका लागि एसियाली मुलुकहरुबाट विद्यार्थीहरु आउने गरेका छन् । शिक्षाको अवस्थामा अझ सुधार गरेर विदेशी विद्यार्थी तान्ने हो भने उनीहरुमार्फत् प्रचारप्रसार र कारोबार दुवै हुन्छ ।

प्रकृतिसँग सम्बन्धित विषय जस्तै वन विज्ञान, फ्लोरिकल्चरजस्ता विषयमा थप लगानी, प्रचार प्रसार गर्ने हो भने विश्वभरबाट विद्यार्थी आउन सक्छन् । जडिबुटी खेती, प्रशोधनसँगै परम्परागत चिकित्सा पद्धती, योगमा आधारित विद्यालय र अस्पताल खोल्ने हो भने त्यसमा पनि बाह्य तथा आन्तरिक पर्यटक आकर्षित गर्न सकिन्छ ।

हाम्रो खेतबारी र खोला हेर्न मात्र पर्यटक आउन्नन् । तर त्यसमा केही फूलबुट्टा भरेर प्रचार प्रसार गर्यो भने पर्यटक ओइरिन्छन् । हिमाल र फाँटका दृश्य देखिने ठाउँमा सके भ्यु टावर, नसके बगैँचा र बिसौनीहरुमात्र बनाइदियो भने पनि त्यहाँसम्म पर्यटक पुग्न बाध्य हुन्छन् । खोलामा तटबन्ध जस्तो बनाएर पानीसँग खेल्न सकिने ठाउँ बनाइयो भने त्यहाँ पिकनिक स्पोट बन्छ । यसरी प्राकृतिक सम्पदाको महत्व बढाउन त्यहाँ केही न केही मानव संरचनाहरु आवश्यक हुन्छ । त्यसको लागि लगानी र भिजन चाहिन्छ ।

अनि सबैभन्दा ठूलो कुरो त होटल, यातायातजस्ता सेवा क्षेत्रमा पर्यटनप्रतिको ज्ञान हुनुपर्छ । पर्यटकलाई गर्नुपर्ने व्यवहार र दिनुपर्ने सेवाको विषयमा जान्नुपर्छ । पर्यटकले आफ्नो देशमा जस्तै सुविधा र सामानहरु खोज्न सक्छन् । त्यसमा पनि उनीहरुलाई निराश बनाउन हुन्न ।

सबै पर्यटक गुन्द्रुक र ढिडो वा नयाँ स्वादको खानामै रमाउँछन् भन्ने छैन । खोज्नेलाई पिज्जा र बर्गर दिन नसके उनीहरु फर्केर आउँदैनन् । त्यसैले लगानी र योजनासँगै हामीले हाम्रो सेवा, सत्कार, सहकार्यलाई अघि बढाउनुपर्छ ।

व्यवशायीहरुले सन् २०१६ लाई पूर्वाञ्चल भ्रमण वर्षका रुपमा मनाउन निर्णय गरेका छन् । यो कार्यक्रमलाई व्यापकता दिन सके सबै पक्षले लाभ लिन सक्नेछन् । सरकारले होस् वा निजी क्षेत्रले, प्रयासहरु आजैदेखि थाल्नु आवश्यक छ । थाहा नपाएर एक्लै धेरै गर्यौं, अब जानेर र मिलेर गरौं ।

युगपथ
२०७२ असार १९ गते नागरिक पूर्वेलीमा प्रकाशित

Neplee

Developer

लेखहरुप्रति तपाईको टिप्पणीलाई स्वागत गर्छु ।

0 comments:

Post a Comment