"नेपालले अमेरिकालाई पछि पार्न सक्छ" : सदस्य सचीव

by 4:47 AM 0 comments
आज राखेपको सदस्य सचीवमा चार वर्षे कार्यकालको लागि नियुक्त भएका केशव विष्टसँग ठ्याक्कै एक वर्षअघि कलेज टाइम्स मासिक पत्रिकाको लागि मैले कुराकानी गरेको थिएँ । त्यतीबेलाको वहाँको भिजन र नेतृत्व मन परेरै त्यसलाई प्रकाशमा ल्याउनैपर्ने निर्णयमा पुगेको थिएँ । खेलकुद विकासको लागि वहाँका भिजनहरु के कस्ता छन् त ? एक वर्षअघि वहाँसँग गरेको कुराकानी जस्ताको तस्तै :


पूर्वमा खेलकुदको विकास कस्तो छ  ?
खेलकुदमा पूर्वको सहभागिता राम्रो भएपनि नतिजा राम्रो छैन । व्यक्तिगत नतिजा र प्रगती राम्रो भएपनि समग्रमा भने पूर्व पछि परेको अवस्था छ । ध्यान दिनुपर्ने निकायले खेलको विकासको लागि उपयुक्त नीति बनाएर काम गर्न नसक्दा पूर्वको खेलकुदलाई पुरानो शाख जोगाउन समेत हम्मे हम्मे परेको छ ।

के-के कुरामा पछि परेको छ ? कारण के होला ?
प्रशिक्षण नियमित र सन्तुलित छैन । शहर बजारमा मात्र सिमित छ । खेलाडीलाई चिनेर प्रोत्साहन गर्ने वातावरण छैन । जसले गर्दा नतिजा पनि कमजोर छ । खेलको संगठित विकास हुन सकेको छैन । यसका धेरै कारण छन् ।
जसलाई प्रकृतीले नै खेलाडी बनाएको छ, गाउँ गाउँबाट त्यस्ता खेलाडीलाई खोजेर उनीहरुको विकास गर्नतर्फ ध्यान दिइएको छैन । पूर्वाधार पर्याप्त छैनन् । न त मैदान छ, न खेल सामाग्री नै । खेलाडीलाई पौष्टिक आहार छैन । किनेर खान सक्ने अवस्थामा पनि कतिपय खेलाडीहरु छैनन् । खेलाडी छनौट गर्ने तरिका पनि निष्पक्ष छैन, जसले गर्दा खेलाडीमा उत्साह घट्छ । राज्यको खेलकुदलाई प्रोत्साहित गर्ने नीति पनि छैन ।

अविभावकहरुको खेल मनोविज्ञानले कत्तिको असर गर्छ ? खेलेर बाँच्न सकिने अवस्था छ र ?
पक्कै पनि खेल मनोविज्ञानले असर गर्छ । विशेषगरी अविभावकहरु । जसले प्रेरणा दिन सक्छन्, उनीहरु उत्साहित छैनन् । परिवारले खेलाडी बन्न आफ्ना छोराछोरीलाई प्रोत्साहित गर्ने अवस्था छैन । खेलमा व्यवशायीक रुपमा लाग्न मेहेनत गर्दा उनीहरुको पढाई बिग्रन्छ भन्ने मान्यताले धेरै विद्यार्थी क्षमता भएर पनि खेल्न सकिरहेका छैनन् ।
क्रिकेट र फुटबलका राष्ट्रिय स्तरका खेलाडीले बाँच्न सक्ने अवस्था बनेको छ, तर स्थानिय स्तरका खेलाडीले बाँच्न सक्ने अवस्था अझै बनेको छैन ।

तपाईले राष्ट्रिय खेलकुद परिषद्को पूर्वाञ्चल अध्यक्षको रुपमा काम गरिसक्नुभएको छ । आफैले चाहिँ के के गर्नुभयो त ?
मेरो समयमा धेरै कुरा गर्न पाईएन । मैले अढाइ वर्ष जिम्मेवारी सम्हालेँ । त्यो बिचमा नेपालको र पूर्वाञ्चलको खेल स्पिरिट साँच्चै बढेको थियो । त्यतीबेला हामीले भिजन २०२० अवधारणा लिएर सन् २०२० साल सम्ममा खेलकुदको लागि पर्याप्त विकास गर्ने योजना बनाएका थियौं । त्यसले गर्दा खेलाडीहरुमा आत्मविश्वास र जोँस दुवै पलाएको अनुभव गरेका थियौं । हामीले विभिन्न ठाउँमा खेल प्रशिक्षण केन्द्र खोल्यौं । खेल प्रशिक्षकहरुका समस्याहरु बुझ्यौं । सुनसरीको इटहरी, धरान, झापाको चन्द्रगढी राजविराजमा रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढेको थियो ।
नेपाली सेना, शशस्त्र प्रहरी र स्रोत साधनले पूर्ण राजधानीको तुलनामा पूर्वको खेल प्रगती सुस्त हुनु स्वभाविक पनि हो । तर हामी अघि बढ्न सक्छौं । किनकी हामीले नगरेर मात्र हो, हाम्रो ठाउँमा प्रशस्त सम्भावनाहरु छन् । अहिले परिषद्मा किचलो देखिएको छ । जसबाट समग्र नेपालमै पनि खेल जगतप्रति नैराश्य छाएको छ । तर फेरी पनि मैले नेतृत्व गर्ने र खेलकुदको नीति निर्माण तहमा पुगेर काम गर्ने मौका पाएँ भने स्पष्ट भिजनसहित खेल विकास गर्नेछु ।

खेलको विकास कसरी हुन्छ त ?
नेपालको बजेटमा खेलकुद विकासको लागि कुल बजेटको १ प्रतिशत बजेट उपलब्ध गराउनुपर्छ । हामीले कम्तिमा पनि ०.५ प्रतिशत बजेट चाहिन्छ भनेर माग गरिरहेका छौं । त्यस्तै स्थानिय निकायले पनि कुल बजेटको १० प्रतिशत बजेट खेलकुदको लागि छुट्याउनुपर्छ । त्यो बजेटले खेल प्रतियोगिता गर्ने र खेलाडीलाई डाइटको व्यवस्था गर्न सकिन्छ ।
त्यस्तै रंगशालाहरु छिटो निर्माण गरेर सबै जिल्लामा र गाउँ गाउँमा खेल प्रशिक्षकहरु पुर्याउने व्यवस्था गर्नुपर्छ । अहिले पुर्वका शहरहरुमा मात्र खेल प्रशिक्षकहरु थुप्रिएका छन् । प्रत्येक जिल्लामा सम्भावना बोकेको खेलको लागि एक प्रशिक्षक पुर्याउनुपर्छ । उनीहरुलाई खेलाडि उत्पादन गर्ने जिम्मेवारी दिनुपर्छ । खेलाडी पहिचानको लागि प्राकृतिक, जातिय विशेषता बोकेका जातिहरु पहिचान गर्नुपर्छ । जस्तै आर्चरी खेलाडी धनुषबाँण खेल्ने समुदायबाट लिँदा बढी योग्य खेलाडी पाइन्छन् ।

खेलाडीलाई खेलेरै बाँच्ने अवस्था बनाउन के गर्न सकिन्छ ? उनीहरुको वृत्ती विकासको योजना के छ त ?
त्यसको लागि पहिला राज्यले खेलकुदलाई प्राथमिकतामा राख्नुपर्यो । स्थानिय निकाय र विद्यालय तथा अविभावकले पनि खेलकुदमा ध्यान दिने हो भने खेलेरै बाँच्ने अवस्था रहन्छ । प्रत्येक स्कुलमा एक जना खेल प्रशिक्षक अनिवार्य राखियो भने पनि खेलाडीले खेलेर र सिकाएर पनि बाँच्ने अवस्था रहन्छ । अहिले विद्यालयमा झारा टार्ने किसिमले मात्र खेलकुद विकासको काम भइरहेको छ । खेलकुद शिक्षक थप्दा त्यसको व्यवस्थापन सरकार आफैले वा स्थानिय निकाय वा विद्यालय आफैले गर्न सक्छ । हामीले त्यो अवधारणा ल्याएका छौं ।
त्यस्तै उनीहरुको खेलको स्तर र प्रगती हेरेर सर्टिफिकेट र उपाधि दिइनुपर्छ । जुन खेलाडीले पढाइ भन्दा पनि खेललाई प्राथमिकता दिएर खेल्यो, उसको पढाइ स्वभाविक कमजोर हुन्छ । त्यसैले जिल्ला स्तरको खेलाडीलाई एसएलसी र राष्ट्रिय स्तरको खेलाडीलाई डिग्रीतहको उपाधि दिनुपर्छ । ओलम्पीकमा खेल्ने खेलाडीलाई पीएचडीसरहको प्रमाणपत्र दिनुपर्छ । राजनीतिज्ञलाई मानार्थ प्रमाणपत्र दिन मिल्ने, खेलाडीलाई किन नमिल्ने ? खेलाडीलाई बीमा तथा पेन्सनको व्यवस्था गर्नुपर्छ । देशको लागि खेलेको खेलाडी पछि खेल्न नसक्ने भएपनि सडकछाप हुनुपर्ने अवस्था आउन दिनुहुँदैन ।

खेलको विकासको लागि कुन पक्षसँग के आग्रह गर्नुहुन्छ ?
खेलकुदलाई राजनीतिक दल र सरकारले अंग बनाउनुपर्छ तर खेलकुदमा राजनीति हुनु हुँदैन । संविधानसमा समेत खेलकुद विकासको योजना समावेश गर्नुपर्छ । खेलकुद विकासको लागि सरकार र स्थानिय निकायले बजेट दिनुपर्छ । परिवारले पनि खेलकुदमा लागेका छोराछोरीलाई सहयोग गर्नुपर्छ । खेलाडीले आजसम्म देशको लागि खेले, राष्ट्रिय भावनाले जिते, अब टेक्निकल्ली खेल्नुपर्छ । नेपालले अमेरिकालगायत विश्वका शक्तिशाली देशलाई कुनै चिजले पराजित गर्न सक्छ भने त्यो खेलकुदले मात्रै हो । हामी सगरमाथा, बुद्ध भनेर गर्व गर्छौं । तर त्यो हामीले बनाएको होइन । हामी आफ्नो बलबुताले खेलमा राम्रखे गरेर संसार हल्लाउने गरी जे गर्न सक्छौं, त्यो अरु काम गरेर गर्नै सक्दैनौं ।
yugpath

Neplee

Developer

लेखहरुप्रति तपाईको टिप्पणीलाई स्वागत गर्छु ।

0 comments:

Post a Comment