२२ वर्षीय ठिटोले सल्काएको गुजराती आगो र नेपाल

by 7:52 AM 0 comments
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको मुख्य मन्त्री भएर त्यहाँ गरेको विकासको सबैले प्रसंसा गरेका छन् । राम्रो काम गरेकैले उनी पटक पटक गुजरातको मुख्य मन्त्री भए र अहिले भारतको प्रधानमन्त्री बनेका छन् । वाककलामा निपुण मोदी अत्यन्त चतुर र मेहेनती छन् ।
तर मोदीको शासनको आधार गुजरातमा आजभोलि दंगा भड्कीएको छ । केही दिनअघि मात्र अहमदाबादको जीएसमडीसी मैदानमा झण्डै ३ लाख मानिस भेला भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् र त्यसको नेतृत्व गरेका थिए २२ वर्षका हार्दिक पटेलले । उनले त्यहाँ एक घण्टा भाषण गरे ।

किन तात्यो गुजरात ?
विकासको दृष्टिले गुजरातमा पटेलहरु सम्पन्न मानिन्छन् । हिरा व्यापारीहरु अनि अहिलेका मुख्यमंत्री पनि पटेल नै छन् । हुनेखाने भनिएकैले होला, उनीहरुलाई आरक्षण थिएन । २० प्रतिशत पटेल भएको गुजरातमा अहिले पटेलहरु आरक्षण पाउन या आरक्षण नीति नै हटाउनका लागि संघर्षरत् छन् । सो क्रममा कयौं पटक र्याली निकालिएको छ, आमसभा गरिएका छन् । आन्दोलन चर्किँदै आएर तनावको स्थिती सृजना भएपछि अहिले स्थितीलाई नियन्त्रणमा लिन सुरक्षा दस्ता तैनाथ गरिएको छ र कफ्र्यु लगाइएको छ । प्रहरीसँगको झडपमा आधा दर्जन बढीको मृत्यु भइसकेपछि विश्वभरका मिडियाको ध्यान अहिले हार्दिक र उनले थालेको अभियानमा छ । यत्रो ठूलो आन्दोलनको नेतृत्व २२ वर्षका ठिटोले गरिरहेको खबर प्रकाशमा आएपछि त झन् हार्दिकको पछाडी कसको सहयोग छ भनेर अनेकन हल्ला चल्न थालेका छन् ।

सबै पटेल धनी छैनन्
भारतमात्र होइन, बेलायतमा पनि करीब अढाई लाख पटेल छन् । अमेरिकामा दुई लाख पटेलहरु बस्छन् । तर हार्दिक भन्छन्, पाँच देखि दस प्रतिशत पटेलमात्र धनी छन् र ग्रामीण इलाकाका पटेल परिवार निकै गरिब छन् ।
जम्मा पटेलमध्ये १० प्रतिशत धनी पटेलको आधारमा ९० प्रतिशत पटेलहरुलाई सुविधाबाट वञ्चित गराइएको उनीहरुको गुनासो छ । जागिर र शिक्षामा आरक्षण माग्दै भएको आन्दोलन हार्दिककै अगुवाइमा पछिल्ला ४० दिनमा चर्किएको छ र यो त्यहाँको राज्य सरकारको प्रमुख टाउको दुःखाइ बनेको छ । पटेलहरुले गरेको माग हो, ‘आरक्षण पटेलहरुलाई पनि देऊ, नभए कसैलाई नदेऊ’ पटेलको आन्दोलनका कारण प्रधानमन्त्री नरेंद्र मोदी पनि दबाबमा आएको खबरहरु सार्वजनिक भएका छन् ।

कम उमेरमै चर्चाको शिखरमा
हार्दिक पटेललाई दुई महिना अघिसम्म निकै कम मानिसले मात्र चिन्थे । हार्दिक पटेल गुजरातका भाजपा कार्यकर्ता भारतभाई पटेलका छोरा हुन् । उनको पानी तान्ने पम्प बेच्ने सानोतिनो व्यापार छ ।
हार्दिक पटेलले तीन वर्षअघि अहमदाबादको सहजानंद कलेजबाट स्नातक गरेका थिए । पटेलले आफ्नो सार्वजनिक जीवन २०११ मा महिला तथा गरिब किसानविरुद्ध हुने उत्पीडनसँग लड्न एक सामाजिक संगठन खोलेर सुरु गरेका थिए ।

कसरी सुरु भयो आन्दोलन ?
हार्दिककाअनुसार उनकी बहिनीले गत वर्ष साह्रै राम्रो नम्बर ल्याएर उच्च शिक्षाको अध्ययन पुरा गरिन् । तर उनलाई छात्रवृत्ती मिलेन, बरु अर्को जातिको औसत नम्बर ल्याउन बच्चाले छात्रवृत्ती पायो । क्षमता हुँदा हुँदै र आर्थिक अवस्था कमजोर भएर पनि छात्रवृत्ती नपाएको घटना उनमा गढ्यो । उनले साथीहरुसँग कुरा गरे । साथीहरुको सहयोगले उनले आन्दोलन थाले । हार्दिकले थालेको आन्दोलनमा पटेल समुदायका रिटायर्ड कर्मचारीहरुको पनि भुमिका छ । सरकारका विभिन्न निकायमा राम्रै अनुभव सम्हालेका उनीहरुको रणनीतिले राम्रो काम गरिरहेको छ ।

बढ्दो लोकप्रियता
गुजरातमा पटेलहरुको आन्दोलनले मुख्यमन्त्री फेर्ने सम्मको क्षमता राख्छ । केही अघि पनि पटेल समुदायकै आन्दोलनका कारण एक जना मुख्य मन्त्री फेरीएका थिए ।
यो पटक पटेल समुदाय २२ वर्षे ठिटोको नेतृत्वमा आन्दोलनमा छ । तर हार्दिक भाषणकलामा पूर्व मुख्यमन्त्री मोदीभन्दा कम छैनन् । सरदार पटेलबाट प्रभावित हार्दिक पटेल भाषणका क्रममा ‘जय सरदार’ को नारा दिन्छन् । उनको र्यालीमा पनि मानिसहरु सरदार पटेलको मास्क लगाएर बसेका देखिन्छन् ।
उनले ६ जुलाइमा पहिलो र्यालीलाई सम्बोधन गर्दा १२ हजार मानिस थिए । उनको दोस्रो र्यालीमा पचास हजार मानिस आए भने तेस्रो कार्यक्रममा साढे चार लाख मानिस भेला भए ।

गुजरातका पटेल र नेपालका क्षेत्री बाहुन
भारतको गुजरातमा पटेलहरुको जुन स्थिती र मनोदशा छ, नेपालका बाहुन क्षेत्रीको ठ्याक्कै त्यही अवस्था छ । अवस्था एउटै भएका कारण आज गुजरातमा बलेको आगो भोलि नेपालमा नसल्केला भन्न सकिन्न । किनकी एउटा समुदायलाई सुविधा दिँदा अर्को समुदायले सुविधा विहिन भएको वा हेपिएको अनुभव गर्नु नै द्वन्दको सुरुवाती चरण हो ।
नेपालमा बाहुन क्षेत्री सम्पन्न र अवसर पाएका वर्ग मानिन्छन् । तर यथार्थमा त्यस्तो छैन । सबै बाहुन क्षेत्री शासन गर्ने ठाउँमा छैनन् र सबै बाहुन क्षेत्री धनी पनि छैनन् । आरक्षण र सहुलियत पाएका वर्ग भित्र पनि पूर्ण गरिबी र पछौटेपन छैन । दलित समुदायमा अत्यन्त धनी परिवार पनि छन् । तर नेपालमा पनि अहिलेसम्म गरीबीका आधारमा होइन, जातका आधारमा छात्रवृत्ती र आरक्षण दिने व्यवस्था छ ।

जातिय आरक्षणले हट्दैन वर्गीय विभेद
नेपालमा आरक्षण केही समयको लागि ठिक थियो । तर आरक्षण आफैमा दीर्घकालिन उपाय होइन ।
त्यसमाथि जातिय आरक्षणले भोलि गुजरातमा जस्तै समस्या निम्त्याउन सक्दैन भन्न सकिन्न ।
त्यसैले अब भने आरक्षणको साटो प्रतिष्पर्धी जनशक्ति तयार गर्ने गरी शिक्षा प्रणाली फेर्ने र गरिब, पछि परेका परिवारलाई शिक्षामा विशेष तालिम, शिक्षाका लागि छात्रवृत्ती दिने व्यवस्था गर्नुपर्छ । न्यून आर्थिक आय भएका परीवारका सदस्यलाई पढाई र तालिमजस्ता अवसर बढाइ प्रतिष्पर्धा गर्न सक्षम बनाउने नीति ल्याउनु आवश्यक छ । गरिब दलित, गरिब जनजाती अनि गरिब बाहुन क्षेत्रीले छात्रवृत्ती पाउन् । छात्रवृत्तीले उनीहरुलाई प्रतिष्पर्धा गर्न सक्षम बनाओस् र उनीहरु हरेक क्षेत्रमा विना आरक्षण अघि बढ्न सकुन् ।
yugpath
(साभार गर्दा स्रोत अनिवार्य उल्लेख गर्नुहोला ।)

Himal

Developer

लेखहरुप्रति तपाईको टिप्पणीलाई स्वागत गर्छु ।

0 comments:

Post a Comment