एनसेलले कर छलेकै हो ?

by 5:35 PM 0 comments
एनसेलको किनबेच प्रकरणसँगै एनसेल बिक्रिको क्रममा भएको नाफामा कर नतिरेको भन्ने प्रसंग चलिरहँदा हामीले बुझ्नै पर्ने केही सामान्य कुराहरु छन् ।
वास्तवमा नाफा एनसेलले गरेको होइन, त्यसैले कर तिर्न नीतिगत रुपमा बाध्य छैन । कर नाफामा तिर्ने हो । अनि नाफा गर्ने भनेको त एनसेललाई चलाउने टेलियासोनेरा भन्ने कम्पनि हो । टेलियासोनेराले एक्जियाटा भन्ने मलेसियन कम्पनिलाई एनसेलको स्वामित्व बेच्यो र ऊ बाहिरियो ।
यो क्रममा टेलियासोनेराले अर्बौं नाफा कमायो । नेपालकै कम्पनिबिच किनबेच भएको भए त्यसको २५ प्रतिशतवापतको ३३ अर्ब सरकारलाई राजस्व तिर्नुपथ्र्यो ।
तर टेलियासोनेरा र एक्जियाटा दुवै नेपालमा दर्ता भएका कम्पनि होइनन् र हाम्रो नीति पनि विदेशमा दर्ता गरिएका यस्ता कम्पनिबिचको कारोबारलाई बाँध्ने खालको भएन । त्यसैले उसले नेपाललाई लाभ कर तिर्दिनँ भन्ने हिम्मत गर्न सक्यो ।

सामाजिक उत्तरदायित्वका कुरा
एनसेलले कर छली गरेको पाइयो भने त्यो चाहिँ उजुरी दिने विषय हो । तर एनसेल नेपालको सबैभन्दा ठूलो कर प्रदायक संस्था हो क्यार, अनि भूकम्प लगायतका प्राकृतिक प्रकोप, खेल तथा साहित्य क्षेत्रमा पनि एनसेलले सामाजिक उत्तरदायित्व निभाएजस्तो गरेको छ । बाँकी धेरै कम्पनिले त त्यती पनि गरेका छैनन् ।

कमजोरी हाम्रै नीतिमा
टेलियासोनेराले एनसेल बेच्दै गरेको जानकारी पत्र सरकारका सम्बन्धित विभागमा पठाएको थियो, तर त्यसमा सरकारी निकायले कुनै प्रतिक्रिया दिएनन् । सरकारी अधिकारीहरु भित्रभित्रै मिले वा उनीहरुले ध्यान दिन आवश्यक ठानेनन्, त्यसैले कमजोरी नीति नियम र हाम्रो कर्मचारीतन्त्रको हो ।
वास्तवमा व्यवशायीहरुले सरकारका कमजोर नीति र कमजोर कार्यान्वयनका क्षेत्रहरुमा खेल्ने हुन् । चोर जहिले पनि प्रहरीभन्दा एक हात अघि नै हुन्छ । त्यसैले हामीले नीति बनाउन र त्यसको प्रभावकारी कार्यान्वयनको लागि सरकारलाई नै दबाब दिनुपर्छ । त्यसैले सरकारलाई उपयुक्त नीति बनाउन खबरदारी सुरु गरौं । ताकि अहिले किनेको मलेसियन कम्पनि एक्जियाटाले फेरी अर्कोलाई नाफामा बेच्दा हामीलाई समेत कर तिरोस् । यसबिचमा टेलियासोनेरालाई कर तिराउन सकिन्छ भने त्यो पनि पहल गरौं । तर एनसेल घेर्दैमा नाफा कमाएर हिडिसकेको टेलियासोनेराले कर तिर्दैन ।

चर्को शुल्क ?
रह्यो कुरा एनसेलले लिने शुल्कको, त्यो त पक्कै पनि नेपाल टेलिकमको भन्दा बढी नै छ । चाहे इन्टरनेट चलाउन होस् चाहे फोनमा कुरा गर्न । तर एनसेल नै त्यस्तो कम्पनि हो, जसले नेपाल टेलिकमलाई प्रतिष्पर्धी र जिम्मेवार बनायो । मेरो मोबाइलको रुपमा एनसेल आउनुअघिसम्म टेलिकमको सिम पाउनको लागि महिनौं प्रतिक्षा गर्नुपथ्र्यो ।

नजानिँदो पाराले पैसा काट्यो
अनि एनसेलले नजानिँदो पाराले पैसा काट्यो भन्ने गुनासो धेरैको छ । यस्तो कुरा प्रमाणित गर्न सक्ने प्रविधिमा हाम्रो पहुँच छैन वा प्रमाणित गर्न नै गाह्रो छ, थाहा भएन । त्यसैले एनसेल नचलाएको बेलामा पनि पैसा काटेको जस्तो लाग्यो भने एनसेल नचलाउँदै राम्रो । किनकी हामीसामु विकल्पहरु छन् ।

त्यसो भए विरोध किन भइरहेको छ ?
विरोध हुनुपर्ने टेलियासोनेरा कम्पनिको हो, एनसेलको होइन । एनसेलको विरोध दुई तरिकाले भइरहेको छ । एकथरीले जानिजानि एनसेललाई तर्साउनको लागि विरोध गरिरहेका छन् । अर्कोथरीले नजानेर विरोध गरिरहेका छन् । नजानेर विरोध गर्नेहरु एनसेलले ग्राहकलाई लुटेको विश्वास गर्छन् र आफू एनसेल प्रयोग गरिरहेपनि एनसेलको विरोधका जुनसुकै गतिविधिमा सहभागि हुन्छन् ।
yugpath

Neplee

Developer

लेखहरुप्रति तपाईको टिप्पणीलाई स्वागत गर्छु ।

0 comments:

Post a Comment