इटहरीको इतिहास खोजी

by 8:25 AM 2 comments

४६ सालमा बहुदल आएपछि पञ्चायतसँग सम्बन्धित धेरै फोटोहरु डढाइयो । बहुदलवादीले दुःख दिने शंकामा पञ्चायतकालका महत्वपूर्ण फोटोहरु घरघरै जले । इटहरीका कलाकार विक्रम श्रिको घरमा पानी पसेपछि फोटोहरु पानीले बिगार्यो । पत्रकार कृष्ण भट्टराईले फोटोहरु स्क्यान गरेर राखेको कम्प्युटर बिग्रेपछि धेरै फोटोहरु कम्प्युटरकै हार्डडिस्कभित्र गुमनाम भए ।
सभासद् कल्पना चौधरीको घरमा भएका पुराना तस्वीरहरुको एउटा पोको नै कसैले नजानेर पानीमा फालिदिएपछि एकै पोको प¥यो । कुनै फोटो झिक्न सकिएन । पुराना तस्वीरको महत्व बुझेर सम्हालेर राख्नेहरुकै यो हालत भयो । प्रायःले पुराना तस्वीरहरुलाई फोहोर भन्दै फ्याँके ।
यी घटनाहरु नौला लाग्दैनथे होलान् तर इटहरीको इतिहास र विकास क्रमबारे वृत्तचित्र र पुस्तक तयार गर्ने उद्देश्य लिएर दौडन थालेपछि भने सम्हालेर राखिएका तस्वीर पनि पछि नष्ट भएको सुन्दा कटक्क मन खायो । हजार शब्दभन्दा एउटा पुरानो तस्वीर अर्थपूर्ण हुन्छ र तस्वीर जति पुरानो भयो, उति मूल्यवान हुन्छ । तस्वीर चित्र नहुँदा रेखाचित्रहरु तयार पारिएको छ । रेखाचित्रले पनि व्यक्त नभएका विषयवस्तुहरु शब्दचित्रबाट प्रस्तुत हुनेछन् ।
डेढ सय वर्षअघि इटहरीको गैसारमा बसोबास सुरु हुन्छ । इटहरीमा दुई थरी थारु । सप्तरीबाट बसाई सरी आएका सप्तरीया अनि अलि अघिदेखि यहीँ बसेका मोरंगिया । त्यतीखेर सुनसरी छुट्टै जिल्ला थिएन, सम्पूर्ण भूभाग मोरंग जिल्लाअन्तर्गत थियो । सप्तरीबाट कमाइ खाने ठाउँ खोज्दै हिडेका एक हुल सप्तरीयालाई नरसिंह चौधरी (सुब्बा)ले इटहरीको बुढीखोला नजिकै रोके ।
केही मानिसहरु नर्सिङ चौधरी खडेर थारु थिए भन्छन् । चौधरी राणाका विश्वासपात्र थिए । कोशी हरैंचामा रहेको हात्तीसारको शाखा इटहरीमा खोलेर राणाहरुले त्यसको रेखदेखको लागि नर्सिङलाई नियुक्त गरेका थिए । त्यतीबेला हरैंचासम्म पुग्न बुढी खोलामा पुल थिएन, तरेर जानुपथ्र्यो । अहिलेको बुढीपुलभन्दा केही तलबाट हुलाकी मार्ग थियो । त्यही मार्गबाट मानिसहरु हिडेर आवत जावत गर्थे, घोडा, गोरुगाडा कुद्थ्यो ।
चौधरीले उनीहरुलाई खोला तरेर गए भट्गमिया होइन्छ, यतै बस भनेर आग्रह गरेछन् । राणाका विश्वासपात्रले भनिसकेपछि उनीहरु पनि इटहरीको अहिलेको भेटघाट चौक छेउछाउ बसे । नर्सिङ चौधरी अगाडी नै गैसारमा मोरंगिया थारुहरुको वस्ती विकास भएको थियो । बसाईसरी आएका रुपन माझी र त्यही जन्मेका छोरा सतनलाल गच्छदारले सो ठाउँमा जमेर बसे ।
उपमहानगरपालिका बन्दा गाभिएको पकलीको इतिहास अर्को एक सय वर्ष पुरानो छ । इटहरीमा वस्ती सुरु हुनुअघि नै पकली बजार थियो । चतरा, रामधुनी हुँदै पकलीदेखि कोशी हरैंचासम्म पुग्ने हुलाकी मार्गका कारण कोशी राजमार्ग बन्नुअघि नै पकली गुल्जार बजार थियो । पकली पनि इटहरीभित्र परेपछि अब इटहरीको इतिहास दुई सय वर्ष अघि पुग्छ । तर बसोबासमा पकली अघि भएपनि शिक्षा, राजनीतिक चेतना, सञ्चारमा भने इटहरी चौक र गैसार समृद्ध रह्यो ।
पुर्वी तराईमा हरैंचा, रंगेली र पकली तीन ठूला बजार थिए । पछि कोशी राजमार्ग बन्यो, त्यसपछि महेन्द्र राजमार्ग आयो, दुई वटा ठूला बाटोहरु एक आपसमा जोडिएको ठाउँमा यातायात चहलपहलसँगै वस्ती विस्तार भयो । पहाडबाट कामको खोजीमा आएका मानिस पनि जंगल फाँडेर बस्न थाले । पछि राजमार्ग बनिसकेपछि जमिन टुक्रा पारेर बेच्न थालियो । यसरी इटहरीमा विभिन्न समुदायका मानिसहरु बस्न थाले ।
नर्सिङ सुब्बाले बसाएको वस्तीमा एक सय वर्षअघि एउटा इटाको घर बनेको थियो । ९० सालको भुईचालोमा भत्कियो । माटोले जोडिएको इटाको त्यस्तो घर अर्को ३५ वर्षसम्म इटहरीमा बन्न सकेनन् । २०३० सालसम्म इटहरीमा चर्पी भएको पक्की घर नै पाइन्नथ्यो । तर टेलिफोन, भारतीय पत्रपत्रिकाहरु इटहरीमा पाउन थालेका थिए । होटलमा किनेर खान इटहरीवासीले १९९० सालको हाराहारीमा नै सिकेका थिए ।
किवंदन्तीहरुलाई वेवास्ता गर्ने हो भने इटहरीभन्दा एक सय वर्षअघिको पकलीको इतिहासबारेमा त्यती धेरै जानकारीहरु पाईदैनन् । तर व्यापारीहरुको शहरको रुपमा पकली हिजो परिचित थियो । गाउँ गाउँबाट उत्पादन भएका चामल, धान, तेल पकली लगिन्थ्यो । त्यहाँबाट गोरु गाडामा हालेर भारतसम्म लगिन्थ्यो । मिलहरु थिएनन्, चौधरी महिलाहरु घरमै कुटेर बनाएको चिउरा बेच्न पैदलै धरानसम्म पुग्थे ।
पूर्वमा इटहरीको चिनारी चौबाटो भएको ठाउँका रुपमा छ । किनकी चौबाटोले नै इटहरीलाई आजको स्वरुपमा ल्याइपुर्याएको हो । पकली, हरैंचा, रंगेली आज इटहरीसामु फिका देखिन्छन् । एक समयमा चतरा बजार पहाड र तराईको व्यापारीक जमघट हुने ठाउँ थियो, कोशी राजमार्ग बनेसँगै धरान विस्तार भयो र चतरा सुक्यो । यसरी हेर्दा इटहरीलाई राजमार्गले बनाएको शहर भन्दा फरक पर्दैन । महेन्द्र राजमार्ग साबिक खनार हुँदै लगिने योजना थियो, पछि महेश्वर सुब्बाको सक्रियतामा उत्तरबाट रेखांकन भयो । सो क्रममा उनको जग्गा बिचबाट बाटो जाने भयो । घर वारी र चर्पी पारी भयो । तर यो ठाउँबाट महेन्द्र राजमार्ग दौडनु नै इटहरीको लागि वरदान बन्यो ।
इटहरी ऐतिहासिक घटनाहरुमा कहिल्यै अघि सरेन । जनसंख्या र चेतनाका हिसाबले पूर्वमा विराटनगरले नेतृत्व लियो । घोपा क्याम्प बनेपछि धरानले छुट्टै र छिट्टै आकर्षण पायो, इटहरी ट्रान्जिट प्वाइन्ट मात्र बन्यो । धरान पूर्वकै महत्वपूर्ण प्राकृतिक, साँस्कृतिक नगरी बन्यो । पूर्वकै सुविधापम्पन्न वीपी प्रतिष्ठान धरानमा बन्यो, रंगशाला बन्यो । बाटाघाटा राम्रो बने । बेलायती सेनाले घोपा क्याम्प बनाए तर बेलायती लाहुरेहरुले धरान बनाए, त्यो पनि मनैदेखि ।
यता विराटनगरले नेपालकै राजनीतिक घटनाक्रमको नेतृत्व लियो । कोइराला परिवार र नेपाली काँग्रेसको गतिविधिसँग जोडिएको विराटनगरलाई केन्द्र बनाएर जुटमिल स्थापना गरियो । विराटनगरले एअरपोर्ट पायो । अञ्चल अस्पताललगायतका ठूला पूर्वाधारहरु बनिसक्दा विराटनगरको पनि अलग महत्व र पहिचान बन्यो ।
तर आफ्नै परिचय बनाउने मामलामा इटहरी हिजोको दिनमा त्यती भाग्यमानी रहेन । मोरंग जिल्लाअन्तर्गतको इटहरी गाउँ पञ्चायत, इटहरी गाविस, नगर हुँदै उपमहानगर बनिसक्दा पनि इटहरी यातायातको लागि ट्रान्जिट मात्र बन्यो । तर आज इटहरी पहिचान बनाउने दौडमा सहभागि भइसकेको छ । इटहरीमा बसोबास र विकासको गती विराटनगर र धरानलाई माथ दिने खालको छ । प्राकृतिक, ऐतिहासिक, राजनीतिक विरासत बोकेका दुई नामी शहरको बिचमा हुनुको फाइदा व्यापारीक नगरी इटहरीले राम्रै लिइरहेको छ । यातायात, खानेपानी, सञ्चारको विकासका आधारमा बसोबास र व्यापार नगरीको रुपमा इटहरीले परिचय बनाएको छ ।
विगत २० वर्षमा यहाँको व्यापार, बसोबास र भौतिक पूर्वाधार विकासको गतीका आधारमा हेर्ने हो भने अबको २० वर्षपछि इटहरीको स्वरुप झट्ट नजरअन्दाज गर्न गाह्रो छ । अस्तव्यस्त शहरीकरणले निम्त्याउने समस्यालाई आँखा चिम्लिदिने हो भने इटहरी अबको २० वर्षमा पूर्वकै सबैभन्दा समृद्ध र व्यवस्थित नगर हुनेछ, किनकी बाटोले इटहरीलाई बन्ने बाटो प्रशस्त गरिसकेको छ ।
तर इटहरीका केही डरलाग्दा चुनौतिहरु पनि छन् । सबैभन्दा ठूलो चुनौति भनेको खुला स्थानहरुको व्यवस्थापन अभाव हो । त्योसँगै पार्किङ स्थलको अभाव अहिले नै समस्या बनिसकेको छ । व्यापारीक नगरीको रुपमा विकास हुँदै आएपछि ठूला र चौडा सडकहरु इटहरीलाई आवश्यक पर्छन् । कोशी राजमार्ग र महेन्द्र राजमार्गलाई विस्तार गर्न सकिएपनि भित्रि बाटोहरु पनि त्यही अनुपातमा चौडा हुन गाह्रो छ । इटहरीसँग व्यवस्थित शहरीकरणको खाका पहिल्यै भइदिएन । त्यसैले सार्वजनिक जग्गा, पैनी, खोला, नाला मिचिए । त्यसैकारण इटहरी वर्षको एक पटक डुबानमा पर्छ ।
भूमिगत ढल निकासको व्यवस्थासँगै तार सञ्जाललाई पनि भूमिगत रुपमा विस्तार गर्नु आवश्यक थियो । तत्काल गर्दा महँगो होला, तर इटहरीको व्यवस्थित विकासमा यस्तो पूर्वाधार निर्माणले दूरगामी सकारात्मक प्रभाव पाथ्र्यो । महानगर भएर राजधानी काठमाडौंले भोगिरहेको समस्या धेरै चाँडै हाम्रो घरमा ढोका ढक्ढक्याउँदै आइपुग्नेतर्फ सतर्क हुनु आवश्यक छ । इटहरीभन्दा जेठो काठमाडौंको उकुसमुकुसलाई हेरेर इटहरीमा अन्तर्राष्ट्रिय स्तरको भौतिक पूर्वाधार व्यवस्थापन गर्न आवश्यक छ । छिमेकी शहर भारतका शहरमा पनि मानिस अट्ने खालका ठूला भूमीगत ढल बनाइएका छन्, जबकी हाम्रोमा मुख्य शहरमै सानो पुरानो नाला मात्र छ ।
मध्य पहाडी लोकमार्ग निर्माणाधिन छ । त्यसको सञ्चालनसँगै पहाडमा पनि सम्भावनाको ढोका खुल्छ । मानिसहरुको बसोबास पहाडका नयाँ जक्सनहरुमा विस्तार हुनेछ । महेन्द्र राजमार्गप्रतिको निर्भरता घटेसँगै यहाँको व्यापार, व्यवशाय तथा बसाई सरी आउने दरमा पनि केही न केही असर पर्छ । त्यो बेलासम्ममा इटहरीले आफूमा कुनै नयाँ विशेषता थप्न सकेन भने इटहरीलाई पनि असर पर्ने निश्चित छ ।
इटहरीका यस्तै विगत, वर्तमान र भविष्यका सम्भावना र चुनौतिहरु खोतल्ने क्रम इटहरीमा सुरु भएको छ । इटहरीको इतिहासमा आधारित रहेर तयार पारिने वृत्तचित्र तथा पुस्तकमा तीन सय भन्दा बढी पुराना तस्वीरहरु प्रकाशन हुनेछन् । तस्वीर नभेटिएसका विषयहरुको लागि रेखाचित्रमार्फत् प्रस्तुत गरिनेछ ।
एउटा नगरको इतिहास समेटेर वृत्तचित्र र पुस्तकको काम थालिएको नेपालभरमै यो पहिलो अवसर हो । विगतलाई तस्वीर, अक्षर र भिडियोका रुपमा अभिलेखबद्ध गर्न नसके धेरै इतिहास लोप हुने पक्का पक्की छ । त्यसैले इतिहासको अभिलेखनले एउटा गाउँको विकास क्रमलाई मात्र वर्णन गर्ने छैन, गाउँलाई नगर बनाउन संघर्षरत् कैयन् नगरवासीलाईसमेतको योगदानलाई जीवन्त राख्नेछ । त्यसको लागि पुराना तस्वीर र लेखोटहरुको खोजी अझै जारी छ ।
हिमाल दाहाल
नागरिक पुर्वेलीमा २०७२१२१३ गते प्रकाशित

Neplee

Developer

लेखहरुप्रति तपाईको टिप्पणीलाई स्वागत गर्छु ।

2 comments:

  1. दामी छ , अन्य कामको लागी सफलताको शुभकामना

    ReplyDelete