के भूकम्पपछि हामीले यी कामहरु गर्यौै ?

by 12:22 AM 0 comments
त्यो एक मिनेट,
जसले एक दशक लामो समयका लागि पीडा दिएर गएको छ । आफन्त मारिँदाको पीडा त जिन्दगी भरकै लागि हो ।
त्यो एक मिनेट अकल्पनीय थिएन । भुगर्भभित्रको हलचल, हाम्रो भवन निर्माण तरिका र सरकारको तयारी र सक्षमतालाई नियालिरहेका विज्ञहरुले बारम्बार चेतावनी दिइरहेकै थिए । तर उनीहरुको चेतावनीलाई सम्बन्धित निकायले बेवास्ता गर्यो ।
फलस्वरुप अघिपछि सुरक्षा दिने घरले च्यापेर प्राण लिइरहँदा हजारौं मानिसले न त आफूलाई बचाउन सके, न त कसैले उनीहरुलाई चाहेर नै बचाउनै सक्यो । मानिस पूर्ववत् काममा फर्किन थालेका छन् । तर घरबार र आफन्त गुमाएकाहरुकाको लागि थप कष्टकर दिनको सुरुवात हुँदैछन् ।

तल्लो तहका नेताहरु जिम्मेवार बन्यौं ?
संविधान बनाउनका लागि बनेको संविधानसभाले संसद्को काम पनि गरिरहेको छ । ६०१ जना जनप्रतिनिधिहरु ठाउँमा छन् । यो बेलामा जनताले राहत र सहयोग पाएको अनुभव गर्नुपर्ने हो । तर यथार्थ त्यस्तो छैन ।
सरकारले जुन गतीमा काम गर्नुपथ्र्यो, गरेन । तर अहिले एउटा नेता मात्रले चाहेमा पनि धेरै काम हुनसक्छ । पार्टीसँग आफ्ना कार्यकर्ता हुन्छन् । स्रोत साधन जुटाउने प्रणाली हुन्छ । काम गर्ने परिपाटी र चेन हुन्छ । एउटा नेताले आफूसँग भएका दुई दर्जन कार्यकर्तालाई सकारात्मक उत्प्रेरणाका साथ सहयोग गर्न प्रेरित गर्ने हो र परिचालन गर्ने हो भने एउटा जिल्लाभरका पीडितले तुरुन्तै राहत पाउन सक्छन् । तीस वटाभन्दा बढी पार्टी भएको देशमा जनताले राहत नपाएको, सहयोग नपाएको गुनासो गर्नु समग्र पार्टीहरुकै लागि लज्जाबोधको विषय हो ।

माथिल्लो तहका नेताहरुले जिम्मेवारी लियौं ?
जाँजरकोट जलिरहँदा जाकर्ता घुमेर आएका हाम्रा प्रधानमन्त्री भुकम्पको चार दिनपछि जनतामाझ देखिए । त्यतीन्जेल पनि सामान्य राहत पुगिसकेको थिएन । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफ्नो ससुरालीको घर भत्कियो भनेर ट्वीटरमा लेखेकोमा आलोचित भए । कान्तिपुर टेलिभिजनमा लापरवाहीपूर्ण अन्तर्वार्ता दिएको भन्दै एमाले नेता बामदेव गौतम आलोचित भए । गगन थापाले केही आक्रामक कुराहरु गरे, तर काम गर्नमा उनी पनि अरु नेताहरु जस्तै रहे । यीबाहेक अन्य नेताहरु त झन् कतै देखिएनन्, सुनिएनन् ।

सुरक्षाकर्मीबाट केही सिक्यौं ?
कर्तव्यपथमा एकचित्त भएका सुरक्षाकर्मीबाट सबै डाक्टर, व्यापारी, कर्मचारी र नेताहरुले सिक्नु आवश्यक छ । घाइतेको उपचारदेखि भोलि भत्केका घरको पुनर्निर्माणमा सबै तहका नेताहरुको सक्रिय सहभागिता आवश्यक छ । त्यो एक मिनेटले निम्त्याएको समस्यालाई नेताहरुले एक हप्ता मात्र आफ्नो समस्या मान्ने हो भने आगामी एक दशकसम्म जनताको मन जित्न सक्छन् ।

सम्पदा जोगाउन विशेष पहल गर्यौै ?
त्यो एक मिनेटले एक शताब्दीभन्दा पुराना सम्पदाहरु ध्वस्त पार्यो । धरहराको इँटादेखि मन्दिरका मुर्तीहरुसम्म चोरले चोरी गर्न भ्याइसकेको सुनिन्छ । ऐतिहासिक, साँस्कृतिक महत्वका सामान कसैले नलगुन् भन्नको लागि ध्यान दिनुपर्छ । त्यसको लागि स्थानियवासीलाई जिम्मा दिनु राम्रो हुन्छ र समन्वय भने नेपाल सरकारले गर्नुपर्छ ।

सकेको सहयोग गर्यौं ?
पहिलो कुरा त हामी आफैले एक अर्कोलाई सहयोग गरागर गर्नुपर्छ । प्रत्येक दुई जनाले एक जनालाई सहयोग गर्ने हो भने राज्यको सहयोग पाउने बेलासम्ममा अवस्था बिग्रिन पाउँदैन ।

आवश्यक सहयोग गर्यौं ? 
अनि राहत दिँदा कम्बल, चामल मात्रले केही हुँदैन । अन्य आवश्यकताका वस्तुमाथि पनि ध्यान दिनुपर्छ । महिलाहरुका लागि सेनेटरी प्याड, बच्चाको लागि डायपर, मास्क, पञ्जाको व्यवस्था गरिदिनुपर्छ ।

सहयोगको सुरक्षा गर्यौं ?
पीडितका आवश्यकतालाई विचार गर्नुपर्छ । २०६५ साल भदौमा कोशी फुट्दा सबैले पीडितहरुलाई चामल दिए, तर उनीहरुसँग त्यसलाई पकाएर खाने न त सुख्खा दाउरा थियो, न त भाँडाकुडा नै, न राख्ने व्यवस्थित ठाउँ नै । बोराका बोरा चामल पानीमा भिजेर कुहिएर गए, त्यस्तो नहोस् ।

सहयोग दिन्नँ भन्यौं ?
दिएको सहयोग दुरुपयोग भयो भने सहयोग दिनुको अर्थ हुँदैन । त्यसैले आफ्नो ठाउँका विश्वासिलो र आधिकारीक समितिहरुलाई मात्र सहयोग दिनुपर्छ । अरु समुहहरु माग्न आए भने दिन्नँ भन्न पनि सक्नुपर्छ ।

लुटेराले हदैसम्मको सजाय पाए ?
एकातिर देश दुःखेको छ, खाना, नाना र छानाको अभावमा मानिसहरु छट्पटाइरहेका छन् । अर्कोतिर संकटको बेलामा कमाउँ भन्ने सोँच राखेर महँगोमा बेच्ने व्यापारीहरु वास्तवमा व्यापारी नभएर मानिसको रोग, भोक र शोकसँग दलाली गर्ने तस्कर हुन् । केही यातायात व्यवशायीहरुले पनि त्यसै गरेका छन् ।
जुद्धसमशेरले त संकटको बेलामा भाउ बढाएर बेच्ने व्यापारीलाई पाँच जना साक्षी राखेर काटिदिए हुन्छ भनेर अनुमती नै दिएका रहेछन् । कालोबजारी र अनुचित नाफा आर्जन गर्न खोज्ने व्यापारीलाई हदैसम्मको सजाय दिनुपर्छ ।

घाइतेहरुले निःशुल्क उपचार पाए ?
घाइतेहरुसँग बस्ने बास र खाने गाँस पनि नहुन सक्छ । त्यसैले उनीहरुले जुनसुकै स्वास्थ्य संस्थामा सबै खालका उपचार र औषधी अनि खाना निःशुल्क पाउनुपर्छ र कडाइका साथ अनुगमन गर्नुपर्छ ।

हाम्रो सोँचमा परिवर्तन आयो ?
भुकम्पको त्रासदीपछि राती मानिसहरु खुला चउरमा सुते । को धनी, को गरिब, सबै एकै थलोमा बसे । भएभरको जायजेथा, सम्पत्तीलाई छाडेर मानिस आफ्नो सुरक्षार्थ कम्बल मात्र लिएर चउरमा आए । आखिरमा मानिसलाई बाँच्नको लागि त त्यही कम्बल मात्रले पनि त हुँदो रहेछ । अति धेरै महत्वकांक्षा पालेर अरुलाई दुःखाउँदै कमाएको सम्पत्तीले न त हामीलाई परेको बेलामा सुरक्षा दिन सक्दो रहेछ, न त हामी त्यसलाई बचाउनै सक्दा रहेछौं । त्यो एक मिनेटले दिएको यो सन्देश एक सय शास्त्रले दिने सन्देशभन्दा ठूलो छ ।
गीताले भनेको छ, पैसा र धन हिजो अरु कसैसँग थियो, आज तिमीसँग छ, त्यो भोलि अरु कसैको हुनेछ । गीताले तिम्रो, मेरो, अर्काको भन्ने भावना त्याग्न सुझाव दिन्छ । अनि बौद्ध, इसाइ, इस्लाम धर्म ग्रन्थहरुमा पनि अरुको हित गर्न आग्रह गरिएको छ । त्यसर्थ धर्म वा मानवता जताबाट हेरेपनि पीडितको सहयोगमा अलिकति हुनेहरुले आफूलाई समर्पित गर्नैपर्छ । किनकी विपद् जसलाई जुनसुकै बेलामा पनि पर्न सक्छ ।

हामीले आवश्यकता बुझ्यौं ?
पीडितहरुलाई राहत दिनकै लागि नेपाल सरकार असक्षम छैन । रकमान्तर गरेर खर्च गर्न सक्ने सरकारले प्रकोप पिडितलाई अरबौं रकम क्षणभरमै छुट्याउन सक्छ । यसैपनि नेपालको ठूलो मात्रामा विकास बजेट खर्च हुँदैन । त्यसैले अभाव पैसाको होइन, दक्ष स्वयंसेवक र उद्धारकको हो अनि राहत वितरण प्रणालीको हो ।

सुरक्षाको तयारी गर्यौं ?
काठमाडौं छाड्न सकिन्छ भने यो राम्रो हुन्छ । बस्ने, खानेजस्ता आधारभुत सुविधाको लागि अहिले हर एकले आफूलाई व्यवस्थित गर्नु राम्रो हो । अनि काठमाडौंमै चाहिँ दिसापिसाब लगायतका फोहोर व्यवस्थापनको काम तुरुन्तै गरिएन भने अर्को ठूलो संकट आउन सक्छ, त्यता पनि ध्यान दिनु आवश्यक छ ।

कर्मचारी गैह्रजिम्मेवार भएको अनुभव गर्यौं ?
गाउँ गाउँमा भुकम्पको अवस्थाबारे अझै सरकार बेखबर छ । गाउँ नजाने गाविस सचिवलाई हटाएर इमान्दार र कर्तव्यनिष्ठ कर्मचारी नियुक्त गरेको भए कम्तिमा सुचना र उद्धार तथा राहतको काम छिटो छरितो हुन्थ्यो ।

अब हामी अर्को विपत्सँग लड्न तयार छौं ?
उद्धार तथा राहतका लागि छिमेकी देश र संसारभरका निकायले गरीरहेको सहयोग र पुनस्र्थापनाका लागि पनि देखाएको तत्परताको प्रसंसा गर्नैपर्छ । तर उनीहरुले दिएको सहयोगलाई व्यवस्थित गरेर ठिक ठाउँमा ठिक समयमा प्रयोग गर्नसक्ने क्षमता पनि हाम्रो भएन । अझ भनौं, विपद् व्यवस्थापनका लागि हाम्रो कुनै तयारी नै भएन । अब यसबारे हामीले हाम्रो नेतृत्वलाई बारम्बार प्रश्न गर्नैपर्छ । ताकि अर्को विपद्मा कम्तिमा उद्धार र राहत सबैले बेलैमा पाउन् अनि यस्ता एक मिनेटले दिने पीडा निकै छोटा हुन् ।
युगपथ
(यो लेख २०७२ वैशाख २७ गते नागरिक पूर्वेलीमा प्रकाशित लेखको परिमार्जित लेख हो ।)

Neplee

Developer

लेखहरुप्रति तपाईको टिप्पणीलाई स्वागत गर्छु ।

0 comments:

Post a Comment