बेरोजगारलाई विकल्प

by 11:20 PM 0 comments
चिया पसल खोलेर धेरैले परिवार पालेका छन् । जजमानी गर्नेहरुलाई खान लाउनको समस्या छैन । धेरैले छ्या भन्ने फोहोर उठाउने मानिसले महिनामा राम्रै कमाउँछन् । तर हामी यी कुनैपनि काम गर्न चाहँदैनौं । किनकी हामीलाई खपिनसक्नु लाज लाग्छ । 
इटहरीका व्यवशायी बलराम आचार्यले केही समयअघि व्यवशायीक खेती तथा गाईपालन थाले । पूर्वाञ्चलकै ठूलो डिपार्टमेन्ट स्टोरका मालिक आचार्यले गाई पाले भनेको सुन्दा धेरैले ओठ टोके । छ्या, गोबर, घाँसपातको त्यस्तो काम पनि गर्ने हो ? धेरैको प्रतिक्रिया थियो । तर बुझ्ने मानिसले भने खासै कुनै प्रतिक्रिया दिएनन् । बरु आचार्यलाई प्रेरणाको रुपमा लिएर आफूले पनि पशुपालन तथा कृषिमा भविष्य खोजे अनि अरुलाई पनि सल्लाह दिए ।
हालै मात्र दूधको मूल्य प्रतिलिटर आठ रुपैयाले बढ्यो । झण्डै २० प्रतिशतको यो मूल्यवृद्धिले आम किसानलाई फाइदै गर्छ । फेरी गाउँ घरमा दुध बेचेरै पनि राम्रो आम्दानी गर्न सकिन्छ । यसबाट दूग्ध उत्पादन यानी धेरैले छ्या भन्ने व्यवशायको राम्रो भविष्य छ भन्ने पुष्टि गर्छ । फेरी दूधबाट विभिन्न परिकारहरु बन्ने अनि खास महँगा प्रविधि नचाहिने हुँदा यो आम बेरोजगार युवाले गर्न सक्ने व्यवशाय बनेको छ । झण्डै एक लाख खर्चेर विदेश गएर महिनाको १० हजार रुपैया पनि बचाउन गाह्रो पर्ने गरी काम गर्नुभन्दा स्वदेशमै बसेर गर्न सकिने गाईपालन बढी फाइदाजनक छ ।
सुनसरी र मोरंगमा रहेका उद्योगहरु मानिस अभावमा समस्यामा छन् । कामदार अनि त्यसमा पनि दक्ष कामदारको अभाव त्यहाँका उद्योगहरुलाई सधै परिरहन्छ । विशेषतः धेरै मजदुर चाहिने जुट उत्पादनसँग सम्बन्धित कारखानामा मानिस अभाव छ । सोनापुरको अरिहन्त जुटमिलमा काम गर्ने मजदुरले न्यूनतम सात–आठ हजार रुपैया कमाउँछन् । फेरी घरसम्म लिन बस आउँछ । समय समयमा स्वास्थ्य उपचार पनि पाइने । तर पनि मानिसहरु विदेश नै ताक्छन् । यो विडम्बना हो । हामी एउटा अवसर नपाएको भन्दै विदेशिन्छौं । तर काम गर्ने मानिसको लागि एउटा हैन, एक सय बढी अवसर छन् ।
हामी भन्छौं, नेपालमा रोजगारको अवसर छैन, त्यसैले विदेशिनुपर्ने बाध्यता छ । तर मेरो बुझाइमा नेपालमा अवसर साँघुरिएको होइन, हामी भित्रको सोँच साँघुरो भयो । हामीले हाम्रो सोँचलाई फराकिलो बनाउन सकेनौं । रोजगारीका दुई चार अवसरलाई कुरेर बस्यौं, पाएनौं अनि देशलाई सराप्न थाल्यौं ।
सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारका कैदीबन्दीहरुको समय बिताउने र आयआर्जन गर्ने राम्रो मेलो बनेको छ मुढा बनाउने काम । पत्यार लाग्दैन होला, जेलभित्र काम गरेकै भरमा कैदी बन्दीहरुले मासिक तीस हजारसम्म आम्दानी गर्ने गरेका छन्, जबकी छेवैको वस्तीबाट मासिक पन्ध्र हजार कमाउनको लागि युवाहरु धमाधम खाडी भासिइरहेका छन् । यो हो हाम्रो साँघुरो सोँचको प्रमाण । ठूलो ठाउँमा जाने बित्तिकै धेरै कमाइँदैन । सानो ठाउँमा बसेर पनि कमाउनको लागि ठूलो सोँच चाहिन्छ ।
हामी भन्छौं, कमाउनका लागि पहिले लगानी पनि त गर्नुपर्यो नि । इटहरीस्थित महिला सीप विकास तालिम केन्द्रले आफ्नो संस्थामा आबद्ध महिलाहरुलाई सीपमुलक तालिम दिन्छ । यस्तो तालिममा फोहोरलाई मोहोर बनाउने गरी कलात्मक सजावटका सामानहरु बनाउन सिकाउँछ, बजार व्यवस्थापनको लागि समेत सहयोग गरिदिन्छ । केही महिलाहरु शुन्य लगानीमा सीप सिकेर यसरी पनि कमाइरहेका छन् । आखिरमा गर्दा त लगानीविना पनि आम्दानी हुँदोरहेछ त ।
बाँसका जराबाट सुन्दर आकृती बनाउँदा बनाउँदै होटल व्यवशायमा छिरेका व्यवशायी रोजन राई भेडेटारमा होटल चलाएर बसिरहेका छन् । त्यहाँ उनको कलाकृती पनि बिक्छ । उनको कलाकृतीका स्वदेशी तथा विदेशी ग्राहकहरुको कमी छैन । सामान्य बाँच्न त कलाकृती बनाएर पनि सकिन्छ, उनी भन्छन् । यता इटहरीका निकै पुराना फोटोग्राफर तथा फोटो पत्रकार श्याम पौडेलले योगा सिकेर अरुलाई पनि सिकाउन थालेका छन् । त्यतीमात्र होइन, विना औषधी पायल्स जस्ता रोगको निदान समेत गर्ने गरेका छन् । राम्रो सीप हाँसिल गरेपछि यो आयआर्जन गर्ने मुख्य पेशा बन्न सक्दैन र ?
चर्चित कलाकार सीताराम कट्टेल धुर्मुसको आफ्नै बंगुर फर्म छ । चपली हाइटबाट चर्चा बटुलेकी नायिका विनिता बरालले तरकारी खेती गरेर चार पाँच जनालाई रोजगारी समेत दिइरहेकी छिन् । चर्चित कलाकार हरिवंश आचार्यले पनि तरकारी खेती गरेका छन् । थुप्रै सभासद्, व्यापारी तथा उद्योगीहरु अहिले धमाधम कृषिमा हात हालिरहेका छन् । हामी नभएर वा नपाएर होइन, लजाएर पछि परेका हौं ।
गर्दा जे पनि हुन्छ जता पनि भरीभराउ । नगर्दा केही पनि हुँदैन, दिमागमा अनि खल्तीमा केही पनि हुँदैन । लोडसेडिङको समयमा मैनबत्ती बनाएर बेचेर पनि मानिस बाँचेका छन्, हामीलाई मैनबत्ती बनाउन के ले छेक्छ ? लाजले छेक्छ भने त्यसलाई हामीले फाल्नुपर्छ किनकी हामी मेहेनत गरेर कमाएर खान खोज्दैछौं । अरुले कमाइदिएको लुट्न, चोर्न, ढाँट्न पो लाज, बनाएर बेचेर खान के को लाज ?
इटहरीको संगीत चौकमा चटपटे बेच्ने एक जना युवाले चटपटे बेचेरै मासिक चालिस हजार हाराहारी कमाउँछन् । बाटो छेउमा जिन्सको पेन्ट फिटिङ गरेरै महिनाको पचास हजार कमाउने मानिस हाम्रै शहर बजारमा छन् । चिया पसल खोलेर धेरैले परिवार पालेका छन् । जजमानी गर्नेहरुलाई खान लाउनको समस्या छैन । धेरैले छ्या भन्ने फोहोर उठाउने मानिसले महिनामा राम्रै कमाउँछन् । मिठो मिठो खाना बनाउन जान्ने मानिसको होटल व्यवशायमा सधैं डिमाण्ड छ । तर हामी यी कुनैपनि काम गर्न चाहँदैनौं । किनकी हामीलाई खपिनसक्नु लाज लाग्छ ।
धेरै युवाहरुको चाहना सञ्चार क्षेत्रमा करियर बनाउनु हुने गर्छ । नाम र दामको लागि सञ्चार क्षेत्रमा ओइरिनेको संख्या पछिल्लो समयमा घटेपनि आकर्षण उती घटेको छैन । नाम कमाएपनि दाम कमाउन नसक्ने भन्दै सञ्चार क्षेत्रबाट बाहिरीने लस्कर पनि ठूलै छ । तर हामीभित्रको लाजले कमाउन दिँदैन । बजारमा राम्रो तरिकाले पत्रिका बाँड्ने हकरको अभाव धेरै छ । जिम्मेवार भएर पत्रिका बाँडिदिने हो भने कामको ओइरो लाग्छ । महिनाको दशदेखि पन्ध्र हजार रुपैया आरामले कमाउँछन् । प्रेस मेसिन चलाउने मानिसलाई अफसेट सञ्चालकहरुले खुट्टामा ढोगेर काममा राख्नुपर्ने बाध्यता छ । पत्रिका डिजाइनर तथा भिडियो इडिटरको माग राम्रो छ । पत्रिका, एफएम तथा टेलिभिजनको बजार व्यवस्थापकको कमाइ पनि राम्रै हुन्छ । तर हामीलाई दाम आउनेभन्दा पनि नाम आउने गरी रिपोर्टर, आरजे, भिजे काम गर्नुपर्छ अनि भन्छौं, मिडियामा पैसा भएन ।
हामी आर्टस्, कमर्स, एजुकेशनको सर्टिफिकेट बोकेर काम खोज्न निस्कन्छौं । तर बजारमा टेक्निकल विषय जानेका दक्ष मानिसको माग बढि छ । बाह्र वर्ष विद्यालय, क्याम्पसमा पढेको मानिसले भन्दा नपढिकन टेक्निकल विषय सिकेको मानिसले बढी कमाउँछ । त्यसका तीन कारण छन् । पहिलो, औपचारिक शिक्षा लिएका युवाहरु आफू ठूलो भएको घमण्ड पाल्छन् । दोस्रो, त्यस्ता औपचारिक विषय पढ्नेहरु फालाफाल पाइने हुँदा अवसर पाउन गाह्रो हुन्छ । तेस्रो, औपचारिक सैद्धान्तिक शिक्षा बेच्ने ठाउँ पनि कम हुन्छ । त्यसैले अनौपचारिक प्राविधिक विषय अध्ययन गर्नु आवश्यक छ । हामी व्यवस्थापन पढ्छौं, तर डिमाण्ड कम भएको विषय पढ्छौं । अब त केही विचार गरौं ।
रोजगारी अवसरकै कुरा गर्दा सवारी साधनको खरीद बढ्दो छ । त्यससँग सम्बन्धित सीपको पनि राम्रो माग छ । सवारी मर्मत गर्ने सीप जानियो भने संसारको कुनै पनि कुनामा भोकै मर्नु पर्दैन । त्यसमा पनि धेरै थोरैले दिने सेवाहरु जस्तै पेचको गुना बनाउनेजस्ता काम जान्ने मानिस कम हुँदा दर रेट पनि मनोमानी छ । अब यस्ता सीप आर्जन गर्ने तर्फ किन नसोच्ने ?
ल्यापटप, मोबाइल मर्मतको काम जानेको मानिसलाई काम घरैमा आइपुग्छ । धेरैले चलाउने, तर बिग्रियो भने सिमित मर्मत केन्द्र धाउनुपर्ने बाध्यतामा ल्यापटप प्रयोगकर्ताहरु छन् पूर्वमा । इलामको कुनै कार्यालयमा प्रिन्टर बिग्रियो भने राम्रो मर्मतको लागि विराटनगरसम्म धाउनुपर्ने बाध्यता छ । ठूला फोटोकपी मेसिन मर्मत गर्ने मानिसलाई बोलाई बोलाई काम दिइन्छ । कार्यालयको टेबल, कुर्सी मर्मत गर्ने काम थाल्ने हो भने पनि राम्रो कमाई हुन्छ । सेफ्टी ट्यांकी सफा गर्नेलाई त एकछिन फुर्सद हुँदैन । महिनामा चालिसौं हजार आरामले कमाउँछन् । गर्दा के हुँदैन र ?
हामीकहाँ अल्छे प्रवृत्ती हावि छ । कुर्सीमा उपरखुट्टी लगाएर फेसबुक चलाउँदै बस्ने काम खोजिहिड्छौं । अनि फेरी स्वदेशमा राम्रो पैसा नै पाइँदैन भन्दै विदेशिन्छौं । अनि विदेशमा चाहिँ के गर्छौं ? विदेशमा जे गरेपनि हुन्छ । भेडा चराएपनि हुन्छ, लेबर काम गरेपनि हुन्छ, ट्रक चलाएपनि हुन्छ । नेपालमै सवारीका साधन चलाउनेहरुले कुनै बैंकमा एसीको चिसो खाएर दिनभरी घोटिनेले भन्दा बढी कमाउँछन् । झन् आफ्नै सवारीका साधन हुने हो भने त मेहेनतले केही वर्षमै मालिक बनाउँछ । तर अफशोस विदेशमा काउव्वाय बस्न तयार छौं, स्वदेशमा गोठालो बन्न हामीलाई हाम्रो इज्जत जान्छ । विदेशमा गार्ड बस्ने हामी स्वदेशमा पाले भेर चिनिन चाहँदैनौं । विदेशमा डिस वासर बन्न तयार छौं तर स्वदेशमा भाँडा माझ्ने काम कदापी गर्दैनौं । धत्, वीर गोर्खाली कतै भाँडा माझेर बस्छ ?
नेपालमा मध्यम स्तरका होटल रेष्टुरेन्टहरुमा वेटरलाई मासिक दश हजार हाराहारी दिइन्छ । टिप्स समेत जोड्ने हो भने १५ देखि २० हजारको हाराहारी कमाउँछन्, तर स्वेदशमा वेटरको काम गर्नुभन्दा विदेशमा भाँडा माझ्न जान युवाहरु लालायित छन्, कुल्ली बन्न जान युवाहरु तयार छन्, जहाँबाट मरेपछि शव स्वदेश आइपुग्छ कि पुग्दैन भन्ने पनि थाहा छैन ।
युवाहरुको विदेशिने लर्कोमा नेपाल सरकारले निरीहतापूर्ण समर्थन जनाइरहेको छ । नेपालको आम्दानीको मुख्य स्रोत रेमिट्यान्सले देश चलेकै छ, सरकार यसैमा दंग छ । अझ विदेशिने युवाहरुलाई विदेश पठाउन तयार छ । सुन्दै लाज लाग्छ, आफ्ना देशका कर्मठ युवाहरुलाई विदेशमा गएर रोजगारी खोज् भनेर देशको सरकारले भन्छ भने यो भन्दा ठूलो निरीहता र लज्जाको विषय के हुन सक्छ ? सरकारको यही निरिहताले नेपाली युवाहरु विदेशमा मरिरहेका छन् ।
हामीले आफूले पढेको विषयलाई विशेषज्ञीकरण नगरेर पनि पछि परेका हौं कि ? विज्ञान विषय पढेका हजारौं विद्यार्थी छन्, तर विद्यालय तथा क्याम्पसमा पढाउनसक्ने दक्ष शिक्षकको अभाव छ । शिक्षकहरुलाई नै जाँच्ने हो भने प्रभावकारी शिक्षण क्षमता भएका शिक्षकहरु त चालिस प्रतिशत पनि छैनन् । बोर्डिङ पढ्ने धेरै छन्, तर बुझेर अंग्रेजी पढाउने मानिस कम छन् । राम्रो शिक्षक बनेर स्कुल पढाउने हो भने पनि ट्युसन आदिबाट मासिक बीसदेखि २५ हजार रुपैया कमाइ हुने सम्भावना छ । पढाइमा राम्रो गर्नेहरुले त्यसतर्फ किन प्रयास नगर्ने ? आफूले पढेकै विषयमा अलि बढी पढेर मेहेनत गर्ने त हो नि ।
काम कुनैपनि सानो वा ठूलो हुँदैन । पान पसल चलाउनेहरुको नाफा सरकारी जागिरेकोभन्दा बढी हुन सक्छ । फूल खेती गर्ने वा बेच्नेलाई त झन् मालामाल छ । विवाहमा गाडी सजाउने एउटा गुलाबको २५ रुपैया । यति विविधतायुक्त हावापानी छ, धेरै बाँझो जमिन छन् तर पनि तिहारमा विदेशबाट फूल ल्याउनुपर्छ । आफ्नो जग्गा नभएर के भो ? पैसा तिरेपछि भाडामा जमिन जत्ति भने पनि पाइन्छ । १० वर्षको लागि जमिन भाडामा लिएर खेती गरे भइगो नि । हेर्दा घिन लाग्ला, तर गड्यौंला पालेर पनि कमाउनेले कमाएका छन् । कम्पोष्ट मल बनाएर पनि पैसा कमाएका छन् । हामीलाई पो लाज लाग्छ त । कठै । काम गर्ने जाँगर हुने हो भने आलु चिप्सहरु बनाएर बेच्दा पनि हुन्छ । केही भएन भने चनाको सातु पानीमा घोलेर कागती निचोरेर बेचे हुन्छ । महिनाको तीस हजार त नाफा मात्रै ।
पहिले पहिले महिनैपिच्छे हुने बेरोजगारको आन्दोलन अहिले ठप्प छ, युवाहरु सबै विदेशिएपछि कसले गर्ने र आन्दोलन । जसले गर्दा सरकारलाई पनि अहिले हाइसन्चो छ । रोजगारी विकास गर्ने दीर्घकालिन योजनाहरुबारे सरकारले केही सोँच बनाएकै छैन । अहिले नबनाएको सोँचले कम्तिमा अबका पाँच वर्ष पिरोल्छ । त्यसबाट हामीपछिका पुस्ता प्रभावित हुनेछन् । आज हामीले दबाब दिएर सरकारलाई रोजगारी सृजना गर्न बाध्य पार्न सकेको भए हामीले दुःखै पाएपनि हामीपछिका पुस्ताले स्वदेशमै रोजगारी पाउँथे । आज त सजिलो छ, सोचौँ त, भोली आर्थिक मन्दी छायो अनि नेपालीका रोजगारीका मुख्य गन्तव्यहरुले ढोका बन्द गरिदिए भने त्यसपछि नेपाल अनि नेपालीको हालत के हुन्छ ?
सोच्ने कुरा धेरै छन्, त्योभन्दा धेरै गर्न सकिन्छ । अरु त अरु, अब लेबर, रिक्साचालकको समेत ज्याला बढीसक्यो । पाइडल मार्नुपर्ने रिक्सा पनि चाहिँदैन, ब्याट्रीबाट चल्ने रिक्सा चलनमा आइसक्यो । काम गरेरै खाने हो, हस्तरेखा हेरेर भविष्यवाणी गर्न सिकेर पनि कमाउन सकिन्छ नि । चिनापत्र बनाउने हो भने पनि गज्जब काम आउँछ । हामीले वश् थोरै, अत्यन्त थोरै आँट गर्नुपर्छ ।
काम गरेर खान लाज लाग्नु हुँदैन । सबै कामको उत्तीकै महत्व छ । केही मानिसहरु जो राम्रो भनिने काम गर्छन्, उनीहरु सानो भनिने काम अनि काम गर्नेहरुप्रति हेपाहा सोँच राख्छन् । तपाई पनि त्यस्तै सोँच राख्ने मानिसमा पर्नुहुन्छ भने तपाईको घडी बिग्रिँदा बनाउने मानिस भएन भने के गर्नुहुन्छ ? फँ्यालिदिनुहुन्छ ? वर्षमा कतिवटा घडी फ्याँक्नुहुन्छ ? तपाईलाई अति धेरै काम दिने मानिस हुनसक्छ, तपाईको बगैँचा सिँगार्ने माली वा छाता मर्मत गर्ने मानिस । कार्यालय पुछेर चिरिच्याट्ट पारिदिने स्वीपर । पंखा तथा एसी मर्मत गर्ने मानिस । सम्झनुस् त, उनीहरु विनाको तपाईको दिनचर्या कति जटिल हुन्थ्यो ? अरु छाडिदिनुहोस्, तपाईको उध्रेको सर्ट सिलाइदिने अनि जगल्टे कपाल काटिदिने, छाँटिदिने मानिसको महत्व छैन भन्न सक्नुहुन्छ ? पक्कै सक्नुहुन्न । सागसब्जी बेचिदिने, दुध ल्याइदिने मानिस भएनन् भने अनी अन्तिममा चर्पी भरियो अनि सेफ्टी टेंकी खाली गरिदिने मानिस भएनन् भने के गर्नुहुन्छ ?
र ... अन्तीममा ... स्वदेशमै आफैले मेहेनत गरेर कमाउन सकिँदैन जस्तो लाग्छ भने एक जना व्यक्तिको एउटा भनाईलाई सधैँ सम्झनुहोस् । नेपोलियन बोनापार्ट भन्ने महासम्राट, जसले एक समय पृथ्वीका धेरै देश जितेर शासन गरेका थिए, उनले भनेका थिए, ‘संसारमा असम्भव भन्ने कुरा मुर्खहरुको डिक्सनरीमा मात्र हुन्छ ।’

युगपथ
(यो लेख केही महिनाअघि नागरिक पुर्वेलीमा प्रकाशन भएको थियो । सान्दर्भिक र उपयोगी हुने ठानेर यहाँ राखिएको छ ।)

Neplee

Developer

लेखहरुप्रति तपाईको टिप्पणीलाई स्वागत गर्छु ।

0 comments:

Post a Comment