धन्य, तिम्रो ब्रह्मले मलाई देख्यो

by 10:58 PM 0 comments
सबै मानिस मनकारी छैनन् । एक, दुई, पाँच रुपैया पनि दिए होलान् । त्यो सबै पैसा गन्न तिमीलाई कति धेरै समय र मेहेनत लाग्यो होला । अझ धेरै कष्ट त कति पैसा दिउँ अनि कति आफैसँग राखौं भन्ने निर्णय गर्नमा भयो होला । 
म धन्य छु, तिम्रो परोपकारले दिएका लुगा पाएँ, लाएँ । खानेकुरा पाएँ, खाएँ । औषधी पाएँ, धन्न अहिलेसम्म सन्चै छु । तिम्रो औषधी खानुपरेको छैन । उब्रिएछ भने तिमीले मुटु मिचेर दिएको औषधी तिमीलाई पठाउँला भन्ने सोच्दैछु ।
म भूकम्पमा परेको सुन्ने बित्तिकै तिमीले मेरो बारेमा जति सोच्यौ, त्यसको लागि म तिमीप्रति कृतज्ञ छु । तिमीले मेरो विषयमा कम्तिमा केही त सोच्यौ, समय खर्चियौ । नत्र चिन्दै नचिनेको मानिसको लागि अचेल कसले किन टाउको दुःखाउँछ, होइन र ?
फाटेका लुगा नै किन नहुन्, फाल्न लोभ लागेर तिमीले भर्याङमुनी राखेको लुगाको पोको खोल्ने जाँगर देखायौ । दोधारमा पर्यौ होला, कुन लुुगा दिने, कुन नदिने । तिमीलाई निर्णय गर्न कति गाह्रो भयो होला । पोको खोल्न कति कष्ट भयो होला, ती सबै कष्टका लागि म तिमीसँग माफी माग्छु ।
म जानि जानि भूकम्पमा परेको होइन । म चाहेर घरबारविहिन भएको होइन, रहरले पालभित्र बसिरहेको छैन । कुनै बेला मेरो आफ्नै घर थियो, तिम्रो जस्तै । धेर–थोर कारोबार थियो, तिम्रो जस्तै । दुःखै किन नहोस्, सुखी संसार थियो, तिम्रो जस्तै ।
चार दिन फुको चिउरा खाएर खुला आकाशमा सुतेपछि पाँचौ दिनमा तिमीले पठाएको सामान पाएको हुँ । त्यसपछि तिम्रो नाम लेखिएको टेन्ट टागेँ । तिमीले पठाइदिएको बिस्कुटकोे प्याकेट खोलेँ, ढुसी ह्वास्स गन्हायो । तर तिमीले कति सोचेर र आफ्नो किमती समय खर्चेर किनेर पठाइदिएको खानेकुरा म किन नखाउँ । आफ्नो पाल्तु कुकुरले नखाएको बिस्कुट मेरोलागि पोको पारिदिने दुःख गर्यौ, तिमीले पाएको दुःख र तिम्रो समयको मोल म जिन्दगीभर तिर्न नसकुँला । धन्य हो, तिम्रो परोपकार ।
तिमीले पठाइदिएको औषधी समय सक्किसकेको छ रे । यतै डुलिहिड्ने पुलिसले बोकेको मोबाइलमा बजेको एफएममा सुनेको हुँ । तिम्रो बिस्कुटले बिसन्चो भएछ भने तिमीले पठाइदिएको औषधी खानेछु । औषधी पनि चाहिन्छ है भन्ने सोचिदियौ, तिम्रो जय होस्, तिमीले मेरो विषयमा थोरै होइन, धेरै सोचिदियौ ।
तिमी टेलिभिजन, रेडियो, पत्रिकाबाट मलाई देखिरहन्छौ होला । हिन्दी बोल्ने टिभीवालाहरु आएर मलाई अस्ती एक घण्टामा १० पटक रुन लगाए । मैले जति रुनु रोइसकेँ भनेर भनेको, पत्याउँदै पत्याएनन् । कसैले त मलाई खिचिदिने कष्ट गर्यो, उसको पनि जय होस् । अनि खासगरी तिमी, जसले आफ्नो बहुमुल्य समय खर्चेर मलाई हेरिदियौ, म धन्य छु । पैसा मात्र देख्ने तिम्रो नजरले कसरी मलाई हेर्ने कष्ट गर्यो, म छक्क छु । जे होस्, म धन्य छु ।
मानिसको जिन्दगी हो । दुःख पर्छ, परोस् । तर राहत लिनु कहिल्यै नपरोस् । मैले पाएको दुःखको भागिदार तिमीलाई किन बनाउँ ? मलाई राहत पठाउँदा तिमीले कम्ता दुःख पायौ । मेरो लागि भनेर राहत उठायौ । सबै मानिस मनकारी छैनन् । एक, दुई, पाँच रुपैया पनि दिए होलान् । त्यो सबै पैसा गन्न तिमीलाई कति धेरै समय र मेहेनत लाग्यो होला । अझ धेरै कष्ट त कति पैसा दिउँ अनि कति आफैसँग राखौं भन्ने निर्णय गर्नमा भयो होला ।
एक मनले सोच्यौ, जसको लागि उठाएको हो, उसलाई धेरै हिस्सा दिनुपर्छ । अर्को मनले सोच्यौ होला, दिनभरी लुखुरलुखुर हिडेर समय र मेहेनत मेरो धेर लागेको छ, त्यो पैसामा मेरो ज्यादा अधिकार छ । हो, त्यो पैसामा तिम्रै अधिकार छ । किनकी तिमी पनि पिडित हौ । म भुकम्पले सताइए, तिमी आफ्नै मनको दरिद्रताले पिरोलियौ । मैले भोगेको शारीरिक कष्टभन्दा तिमीले खेपिरहेको मानसिक कष्ट धेरै लामो समयदेखिको हो । ति सबै सहेर मेरो विषयमा केही सोच्न सक्यौ, तिमी महान छौ । तिम्रो ब्रह्मले मलाई देख्न सक्यो । तिम्रो लाख लाख जय होस् ।
कहिलेकाहिँ रातमा आफ्नो नयाँ घरदेखि बाहिर निस्कन्छु । खुला र गन्हाउने चउरमा बसेर आकाशका तारा हेर्छु । शायद तिमी पनि आफ्नो महलको छतमाथि उसैगरी सुतेर त्यही तारा हेर्दै हौला । फरक यत्ति हो, तिम्रो तारा टिल्पिलाउँछ । मेरो तारा पिल्पिलाउँछ । कहिलेकाहिँ आँशु झार्छ अनि रातभरी मेरो घर धर्रर्र ... कराउँछ ।
म सोच्थेँ, मलाई कहिल्यै विपत् पर्दैन, तर म गलत रहेछु । विपत् मैलाई पर्दो रहेछ, अलि स्पष्ट भन्दा विपत् सबैलाई पर्दोरहेछ । तर विपत् त्यस्तो नपरोस् कि कसैले करले पठाएको राहत लिनु परोस् । मनले पठाएको राहत हुन्थ्यो त म धेर खुसी हुन्थेँ ।
म कुनै बेला अरुलाई धेरथोर चन्दा दिन्थेँ । विभिन्न बहानामा चन्दा माग्न आउनेहरुबाट दिक्क लाग्थ्यो । आज कसैले आफूलाई भीख माग्नेजस्तै व्यवहार गर्दा त्योभन्दा धेरै दिक्क लागेको छ । बारम्बार भन्छु, म माग्ने होइन, मलाई माग्ने नबनाऊ । तर कसले पत्याउँदोरहेछ र ?
झोपडीका कथा किन बाहिर आउँदैनन्, आज थाहा पाएँ । एउटा मात्र व्यथा हुन्थ्यो र सुनिदिने मानिस हुन्थे भने न सुनिने हो । यहाँ त व्यक्तिपिच्छे व्यथाका खात छन् । प्रत्येक टेन्टहरु विपत्ले निम्त्याएका व्यथाका पहाड झै लाग्छन् । यी व्यथाहरुभित्र आत्मसम्मान नामको चीज भूमीगत हुँदो रहेछ । राती झस्केर ब्युँझदा लाग्छ, आफ्नो आत्मसम्मानको चिहानमाथि सुतिरहेको छु । तर म विवश छु ।
तिमीले पठाइदिएको राहतले आहत दियो भन्दै भन्दिनँ । राहत दिने विषयमा सोच्दा, पठाउँदा र मलाई पढिरहँदा, हेरिरहँदा, सुनिरहँदा तिम्रो कति किमती समय नष्ट भयो, त्यसको तुलनामा मैले पाएको आहत केही होइन । तिमी धन्य छौ । भुईचालोले हल्लाइदिएको मेरो मुटु तिमीले दिएको राहतले कक्रक्क पारेर समातेको छ, चल्नै नदिने गरी । तर हल्लिँदाभन्दा समात्दा अलि धेरै पोल्दो रै’छ मित्र । बरु भैचालोले हल्लाएकै बेस ... ।
युगपथ

Neplee

Developer

लेखहरुप्रति तपाईको टिप्पणीलाई स्वागत गर्छु ।

0 comments:

Post a Comment