फेल हुनु भो ? बधाई छ

by 1:34 AM 0 comments
असफल नभई आविष्कार भएको कुनै एउटा वस्तुका बारेमा बताइदिनुस् अनि ह्यान्डराइटिङ नबिगारी सपार्ने एउटा मानिस अनि एकै पटकमा शब्द बोल्न जानेको बालक चिनाइदिनुस् । सबका सब असफल भएरै सफल भएका छन् ।

प्रिय विद्यार्थी साथीहरू,

एसएलसी नतिजाको सेरोफेरोमा तपाईहरूका लागि परीक्षा र नतिजासम्बन्धी केही कुराहरू लेख्न पाउँदा खुसी लागेको छ । अझ खुसी त यसकारण लागेको छ कि यो पढिदिने तपाई हुनुहुन्छ । नत्र, लेखाइको कुनै अर्थ हुन्थेन ।
म मेरो स्कुलमा मेरो समयको सबैभन्दा जान्ने विद्यार्थी थिएँ । कक्षा दुईदेखि कक्षा १० सम्म कक्षा प्रथम अनि अतिरिक्त क्रियाकलापमा पनि अघि । त्यसैले मसँग मेरो विद्यालय, परिवार र साथीहरूले एसएलसीमा राम्रो नतिजाको आशा गरेका थिए, त्यो स्वाभाविक पनि हो । तर, जब नतिजा आयो, आशा निराशामा परिणत भयो । परीक्षाको नतिजामा मेरो सिम्बोल नम्बर निस्केन । मैले फेल लेखेको मार्कसिट पाएँ ।
फस्र्ट वा डिस्टिङसन ल्याउने भनेर सबैले आशा गरेको विद्यार्थी अप्रत्यासित रूपमा फेल हुँदा कस्तो भयो होला । सोच्नुहोला, लाइफ सकियो । तर, म त सुरुदेखि नै सबै नतिजा लाई स्वीकार गर्ने मानिस थिएँ । सोचेँ, ‘जाबो एउटा विषयमा त फेल भएँ, जिन्दगीको परीक्षामा चाहिँ पास भएरै छाड्छु ।’
मानिसले जीवनमा विभिन्न खाले परीक्षा दिनुपर्छ । शिक्षा क्षेत्रमा दिने परीक्षालाई बिर्सेर एकपटक सोच्नुस् त तपाईले जीवनमा अनगिन्ती परीक्षाहरू दिनुपर्छ । एउटा असल छोराको रूपमा वा असल छोरीको रूपमा परीक्षा दिनुपर्छ । कहिले आदरणीय दाइ, दिदीको रूपमा त कहिले प्यारो भाइ, बहिनीको रूपमा । उमेरसँगै तपाईले दिने परीक्षाहरू पनि थपिँदै जान्छन् । कहिले प्रेमी–प्रेमिकाको रूपमा परीक्षा दिनुपर्छ त कहिले असल श्रीमान्–श्रीमतीको रूपमा । असल छिमेकी, राम्रो व्यक्ति, संस्थाको राम्रो सदस्यको रूपमा पनि परीक्षा दिनुपर्छ । जब तपाई रोजगार बन्नुहुन्छ, असल र सक्षम कर्मचारीको रूपमा, प्रेरणादायी हाकिमको रूपमा तपाईले परीक्षा दिनुपर्छ ।
यस्ता सयौं परीक्षा दिनुपर्छ, जुन कि तपाईको जिन्दगीका वास्तविक परीक्षाहरू हुन् र जिन्दगीको परीक्षा सामुन्ने शैक्षिक परीक्षा केही पनि होइन । ठूलो त जीवनको परीक्षा हो । जसमध्ये अधिकतरमा तपाई पास हुनैपर्छ । पास भएमा तपाई असल र सफल, फेल भएमा असफल र खराब ।
एउटा परीक्षामा फेल भइयो भने के पास हुने आशा नै त्यागिदिने ? नेभर । हामी जित्न जन्मेका हौं । हामीमा हार्ने आदत छैन, हुनु पनि हुँदैन । हामी सधै असल र राम्रो काम गर्छौं र त्यो काममा अघि बढेरै छाड्छौं । किनकी हार्न त हामीले जानेकै छैनौं । थोमस एल्वा एडिसन नामक वैज्ञानिक स्कुले जीवनमा पढाइमा एकदमै भुस्कुल थिए । जान्दै नजान्ने । शिक्षकले उनलाई साह्रै मूर्ख भन्थे । उनले १० हजार पटकको प्रयासपछि विद्युत्बाट बल्ने बल्व (चिम)को आविस्कार गरेका थिए । सोच्नुस् त, थोमसले एक पटक होइन, दश पटक होइन, सय पटक पनि होइन, हजार पटक पनि होइन । दश हजार पटकसम्म कोसिस गर्छन् र सफल हुन्छन् भने मैले किन एकै पटकमा हिम्मत हार्ने ? मैले अर्कोपटक परीक्षा दिएँ । अन्ततः फेल भएको विषयमा ६० प्रतिशतभन्दा बढी अङ्क ल्याएँ । थोमस एक–दुई पटकको असफलतासँगै अत्तालिएर चुपचाप बसिदिएका भए, सायद हामी बिजुलीको उज्यालोमुनि बस्न त्यति छिटै पाउदैनथ्यौं होला ।
सर आइज्याक न्युटनको जीवनी पढ्नुहोस्, कक्षामा सबैभन्दा नजान्ने विद्यार्थी थिए उनी । शिक्षक भन्थे, ‘तँ यो धर्तीको बोझ होस् ।’ शिक्षक र साथीहरूले हेप्ने र होच्याउने गरेपछि उनी विद्यालय कम मात्र जान्थे । भलै शिक्षामा पास नहुन्, तर उनी जीवनको वास्तविक परीक्षामा पास भए ।
गुरुत्वाकर्षणसम्बन्धी नियम पत्ता लगाएर विश्वविख्यात र दुनियाँका लागि प्रेरणास्रोत भए । न्युटनले स्कुले शिक्षामा भने कहिल्यै मन लगाएनन् तर आज संसारभरका स्कुलमा उनकै सिद्धान्त पढाइन्छ । यो पो हो त पास हुनु भनेको । परीक्षामा पास भएर जागिर खानु पनि कुनै उन्नति हो र ?
संसारका सबै सफल व्यक्तिको जीवनी पढ्नुहोस् । महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनदेखि संसारका धनी बिल गेट्ससम्म स्कुलमा धेरै जान्ने विद्यार्थी होइनन् । हामी सबैले चलाउने फेसबुक पनि सबैभन्दा धेरै जान्ने कम्प्युटर इन्जिनियरले बनाएका होइनन् ।
धेरै जान्ने विद्यार्थी त पास भएर उहिल्यै जागिर खान थाले होलान्, उनीहरू त्यत्तिकै सकिए । तर, फेल हुनेहरूले असफलता के हो भन्ने कुरा जाने । सफलता पाउनका लागि अघि बढे र जीवनको परीक्षामा पास भए । त्यसैले त आज उनीहरूको जीवनी हामी खोजी–खोजी पढ्छौं, उनीहरूका सिद्धान्त घोक्छौं । यसरी सिद्धान्त लेख्ने सिद्धान्तकार र वैज्ञानिकहरू धेरैजसो आफ्नो समयका स्कुल फस्र्ट थिएनन् । खोजे हुन्छ । त्यतिखेर म धेरै निरास बन्छु, जब म धेरै आशा गर्छु । मैले परीक्षामा राम्रो लेखेको छु भने राम्रो नतिजाको आशा गर्छु । परीक्षा राम्रो भएको छैन भने मैले राम्रो नतिजाको आशा गर्नु बेकार हो । त्यसैले आफूले गरेको कामभन्दा बढी आशा गर्नु हुँदैन । नत्र धेरै निरास होइन्छ । त्यसैले बरु आशा नै नगर्ने । पास भए हुँला, नभए अर्को पटक ट्राइ गरुँला । भन्दिनुस्, ‘फेल भए बाल मतलब, अर्को पटक जाँच दिएर पास हुने हो । फेरि फेल भए फेरि जाँच दिने ।’
जीवनको परीक्षामा सफल हुन असफलताले निकै सघाउँछ । तपाईले साइकल वा मोटरसाइकल चलाउन सिक्नुभएको छ ? त्यसरी सिक्दाका सुरुवाती दिन सम्झिनुस्, जवाफ ती दिनहरूले पनि दिनेछन् । नलडिकन हिँड्न जानेको कोही एउटा मानिस देखाइदिनुहोस् । असफल नभई आविष्कार भएको कुनै एउटा वस्तुका बारेमा बताइदिनुस् अनि ह्यान्डराइटिङ नबिगारी सपार्ने एउटा मानिस अनि एकै पटकमा शब्द बोल्न जानेको बालक चिनाइदिनुस् । सबका सब असफल भएरै सफल भएका छन् ।
असफलतालाई सफलताको सिँढी बनाएरै अघि बढेका छन् । त्यसैले मित्र, हार्नु हुन्न । फेल हुनु तपाईको अक्षमता हो । तर, फेल भएँ भन्दैमा हार्नु चाहिँ तपाईको गल्ती हो । अक्षम हुनु तपाईको दोष होइन, त्यसैले तपाई फेरि उठ्नुपर्छ, फेरि लड्नुपर्छ, फेरि उठ्नुपर्छ । परीक्षाहरू दिइरहनुपर्छ । किनकि परीक्षाले तपाईलाई खार्छ । सक्षम बनाउँछ । तपाईभन्दा शारीरिक, मानसिक रूपमा अक्षम मानिसहरू त बाँचिरहेका छन्, सङ्घर्ष गरिरहेका छन् भने तपाई एउटा जाबो परीक्षामा फेल हुँदैमा किन निरास हुने ?
तपाई महान र सफल बन्नका लागि पागल हुनुपर्छ । पागल नभई कसैले केही आविस्कार गरेन । आकासमा उड्न सकिन्छ भनेर राइट ब्रदर्सले भन्दा दुनियाँले उनलाई पागल भनेका थिए । एउटा यन्त्रको माध्यमबाट टाढा टाढा पनि कुरा गर्न सकिन्छ भनेर ग्राहम बेलले सोच्दा अरू मानिसले उनलाई मूर्ख भनेका थिए । पृथ्वी गोलो छ भनेर भन्दा कैयौं वैज्ञानिकहरूलाई देश निकाला गरियो । जसले अलि फरक काम गर्न खोज्यो, उसलाई दुनियाँले मूर्ख भन्यो । तर, अन्ततः उनीहरू नै सफल भए । सोझो काम गर्ने, रटेर पढ्ने, पास हुने, जागिर पाउने बुद्धिमानहरू इतिहासका केही पानामा सीमित भए । अब आफंै विचार गर्नुहोस्, तपाईको लागि शैक्षिक परीक्षा ठूलो कि जीवनको परीक्षा ।
मित्रहरू, असफलता तपाईको सत्रु होइनन् है । ती त महान गुरु हुन् । असफल हुनुभयो भने सोच्नुस्, ‘म सफलताको बाटोमा छु र मैले जीवनलाई नजिकबाट बुझिरहेको छु ।’
अरू सफल भएको हेरेर आफ्नो असफलताबाट निरास हुने होइन, त्यो मानिस सफल हुन कतिपटक असफल भयो, त्यो केलाउनुहोस् । सधैं सकारात्मक सोच राख्नुस् । आफूमा विश्वास राख्नुस् । तपाईको जस्तो क्षमता अरू कसैमा छैन । ग्यारेन्टी दिन्छु । तपाईले जसरी सोच्न सक्नुहुन्छ, जसरी काम गर्न सक्नुहुन्छ, त्यसरी अर्को मानिसले गर्नै सक्दैन । तपाई यो संसारको महत्वपूर्ण व्यक्ति हो । किनकि संसारका सात अर्ब मानिसमा तपाईको फिङ्गरप्रिन्ट कसैसँग मिल्दैन यो तपाईको मौलिकता र विशिष्टता हो ।
त्यसैले, आफ्ना साथीहरूलाई पास भएकोमा बधाइ दिनुहोस्, उनीहरूले भोलि तपाई सफल भएकोमा बधाइ दिनेछन् । शैक्षिक परीक्षा त केही होइन, तपाईले जीवनको परीक्षामा पास हुनुछ । त्यसैले उठ्नुस् । यौटै असफलताले गल्ने मानिस होइन तपाई । अघि बढ्नुस् ।
म फेरि पनि भन्छु, परीक्षामा पास हुनु मात्र सफलता होइन, जीवनमा पास हुनु वास्तविक सफलता हो । असफलतापछि सफलता हात पारेका केही विश्वविख्यात मानिसहरूको बारेमा जानिराख्नुस् :

  • फिल्ममा अवसर दिनुहोस् भन्दै जाँदा विख्यात हाँस्य अभिनेता चार्ली च्याप्लिनलाई धेरै निर्देशकहरूले अवसर दिएनन् । उनको अभिनय नबुझिने र अस्पष्ट छ भन्ने आरोप लगाइन्थ्यो, तर जब उनले पहिलो फिल्म खेले, तब सुपर–डुपर हिट भए । एक दर्जन फिल्म खेलिसक्दा त उनको तलब सय गुणाले बढिसकेको थियो ।
  • संसारकै प्रसिद्ध अभिनेत्री तथा नायिका मार्लिन मोनेरोले सम्झौता गरेको पहिलो फिल्म खेल्न पाइनन् । उनी नराम्री र ट्यालेन्ट नभएकी केटी भन्दै गरेको सम्झौता पनि तोडिएको थियो ।
  • विश्वप्रसिद्ध कार्टुन मिकी माउस बनाउने कलाकार वाल्ट डिज्नीलाई कुनै पनि खुबी नभएको मानिस भन्दै उनको समयमा आलोचना गरिन्थ्यो । उनी १६ वर्षको उमेरमा विद्यालय छाडेर आर्मीमा भर्ती हुन गए । उनी त्यसका लागि धेरै कम उमेरका भएकोले रेडक्रसमा सामेल भए । डिज्नीलाई अमेरिकाको शिकागोबाट फ्रान्स पठाइयो । त्यहाँ उनी त्यस्तो एम्बुलेन्स चलाउँथे, जसको सबैतिर फिल्मी पात्रको कार्टुन चित्रित थियो । त्यसैबाट प्रेरित भएर उनले वाल्ट डिज्नी कम्पनि खोले । उनको कलाकारीताले देश विदेशमा ख्याती कमायो । उनले ५८ वर्षको उमेरमा मानार्थ डिप्लोमा डिग्री प्राप्त गरे ।
  • फ्रेड एस्टायर नामक कलाकारले आफ्नो स्क्रिन टेस्ट दिँदा निर्णायकहरूले निर्णयमा यस्तो लेखेका थिए : अभिनय गर्न नजान्ने, गाउन नजान्ने, अलि–अलि नाच्न जान्ने । तर, उनैले संसारकै प्रसिद्ध डान्सर बनेर लाखौं युवतीहरूको मन जिते ।
  • भिसेन्ट भानगग नामक चित्रकारले जिन्दगीमा आफ्नो एउटा मात्र चित्र बेचे, त्यो पनि आफ्नो साथीलाई । तर, अहिले उनको चित्र अमूल्य सम्पत्तिमध्ये दरिन्छ ।
  • डाक्टर सेउस नामक लेखकको किताब छाप्न २७ भन्दा बढी प्रकाशकहरूले अस्वीकार गरिदिएका थिए । तर, पछि उनी सबैभन्दा प्रसिद्ध बाल पुस्तक लेखक बने ।
  • भ्याकुम क्लिनरका आविस्कारक सर जेम्स डाइसनले प्रोटोटाइप बनाउनको लागि पाँच एक सय २६ पटक कोसिस गरे । अन्ततः २७औं पटकमा प्रोटोटाइप बनाइ छाडे ।
  • ह्यारीपोर्टर नामक विश्वप्रख्यात उपन्यासको सातौं भागसम्म लेख्ने लेखिका जेके रोलिङ बेरोजगार र श्रीमान्सँग छुट्टिएकी थिइन् । पारिवारिक समस्याका अतिरिक्त उनी सफल लेखिका बनिन् ।
  • प्रसिद्ध लेखक स्टेफन किङले आफूले लेखेको उपन्यास चित्त नबुझेर त्यसलाई डस्टबिनमा फालिदिएका थिए । त्यो उपन्यासको पाण्डुलिपिलाई उनकी श्रीमतीले छाप्न दिइन्, जुन ३५ करोड प्रति छापियो ।
  • जोन ग्रिसम नामक अमेरिकी वकिलले तीन वर्ष लगाएर एउटा किताब लेखे, उक्त किताब छाप्नका लागि लाँदा प्रकाशकले २८ पटकसम्म अस्वीकार गरिदिए । तर, २९औं पटक बल्ल उनको किताब पाँच हजार प्रति छाप्नका लागि स्वीकृत भयो । तर प्रकासित भएपछि विभिन्न संस्करण गरेर २५ करोड प्रति छापियो र बिक्री भयो ।
  • माइकल जोर्डन नामक प्रसिद्ध बास्केटबल खेलाडीले भनेका छन्, ‘मैले मेरो खेल जीवनमा नौ हजारभन्दा बढी सट मिस गरेँ, मैले खेलेका तीन सय खेल हारेँ । २६ पटक जित्नै लागेको गेम पनि मेरै कारण हारें । मैले जीवनमा धेरै खेल हारें, त्यही नै मेरो सफलताको कारण बन्यो ।’
  • प्रख्यात होटल केएफसीका मालिक कोलोनल हारल्यान्डले ६५ वर्षको उमेरमा मात्रै केएफसीको सुरुवात गरेका थिए । व्यवसाय सुरु गर्दा उनीसँग मात्र एक सय पाँच डलर थियो । उनले एक हजार जनासँग आफ्नो भिन्न स्वादको परिकारको प्रस्ताव गरेका थिए, तर कसैले मानेनन् । आज उनको केएफसी ब्राण्डका होटलको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।
  • बेलायती प्रधानमन्त्री विस्टर्न चर्चिल आफ्नो अध्ययनको छैठौं तहमा फेल भएका थिए । जसको कारण उनले सार्वजनिक सेवामा जागिर खान पाएनन् । तर, ६२ वर्षको उमेरमा उनी बेलायतका प्रधानमन्त्री बने ।
  • डेल कम्पनिका प्रमुख कार्यकारी अधिकृत माइकल डेलले १९ वर्षको उमेरमा कलेज छाडेका थिए । उनले आफ्नो कलेजको एउटा कक्षा कोठामा कम्प्युटर कम्पनि खोलेका थिए । पछि ऋण र नाफा मिलाएर कम्पनि विस्तार गरे । उनी अमेरिकाका अर्बपतिहरुको सुचीमा पर्छन् ।
  • आधुनिक सवारी साधनको व्यवशायीक उत्पादनका पहिलो व्यवशायी तथा आफ्नो जमानाको सबैभन्दा धनी हेनरी फोर्डले उच्च शिक्षा अध्ययन गरेनन् । फोर्डलाई उनका पिताले आफूजस्तै किसान बनाउन चाहन्थे । तर फोर्डलाई गाडी र इन्जिनमा रुची थियो । पितासँगको वादविवादपछि उनले घर छाडे ।
  • माइक्रोसफ्टका मालिक तथा संसारकै धनी बिल गेट्सले बिचैमा कलेज छाडेर साथी पाउल एलेनसँग मिलेर माइक्रोसफ्ट कम्पनि खोलेका थिए । आठ वर्षको उमेरमै कम्प्युटर प्रोग्राम बनाउन जान्ने भइसकेका उनले जम्मा ५५ हजार डलर लगानीमा माइक्रोसफ्टको सुरुवात गरेका थिए । यन्त्र उपकरण बनाउन रुची राख्ने उनले औपचारिक पढाइलाई प्राथमिकता दिएनन् । तर सन् २००७ मा उनलाई हावार्ड विश्वविद्यालयले मानार्थ डिग्री प्रदान ग¥यो ।
  • सबैभन्दा धनी युवाको रुपमा चिनीने फेसबुक संस्थापक मार्क जुकेरवर्गले पेपाल नामक कम्पनिका संस्थापक मध्येका एक पिटर थेलसँग पैसा सापटी लिएर फेसबुक बनाएका थिए । कलेजको गर्मी विदामा बनाएको फेसबुकले उनलाई नाम र दाम दुवै दियो ।
  • आमा शिक्षिका भएपनि बिरामीका कारण ढिलो मात्र अध्ययन सुरु गरेका महान वैज्ञानिक थोमस एल्वा एडिसनले जीवनभर पढाइमा प्रगती गर्न सकेनन् । औपचारिक शिक्षा सुरु गरेको तीन महिनामै विद्यालय छाडेका उनलाई शिक्षकले मुर्ख भनेपछि उनीकी आमाले उनलाई विद्यालय छोडाएर घरमै पढाउन थालिन् । आमाको सिकाइ र आफ्नो मेहेनत र खोजका कारण सबैभन्दा बढी आविष्कार गर्ने वैज्ञानिक बने । विद्युत् बल्व, चलचित्र, इलेक्ट्रिक जेनेरेटरलगायत उनको नाममा एक हजार आविष्कारको सुची छ ।
  • टाइम म्यागजिनले शताब्दीपुरुष घोषणा गरेका महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइन स्कुले जीवनमा आइन्स्टाइन थिएनन् । उनी चार वर्षको उमेरसम्म बोल्न र सात वर्षको उमेरसम्म पढ्न सक्दैनथे । उनलाई उनका शिक्षकहरूले सुस्त र कामै नलाग्ने मूर्ख भन्थे । नोबेल पुरस्कार विजेता, अणुसुत्रका प्रत्युत्पादक आइन्स्टाइनले १५ वर्षको उमेरमा विद्यालय छाडेका थिए । उनी इतिहास, भुगोल र भाषामा धेरै कम अंक ल्याउँथे । उनले स्वीस इन्स्टिच्युट अफ टेक्नोलोजीमा भर्ना हुनको लागि प्रवेश परिक्षा दिएपनि फेल भएका थिए । त्यसपछि उनी पुनः क्याम्पसमा भर्ना भए, डिप्लोमा सके, अनि दोस्रो पटकको प्रयासमा मात्र विश्वविद्यालयको प्रवेश परिक्षामा पास गरे ।
  • प्रख्यात अंग्रेजी कथाकार चाल्र्स डिकेन्सका पिता खराब ऋणको कारण जेल गएपछि १२ वर्षका चाल्र्सले स्कुल छाडेर दिनको १० घण्टा काम गर्न थाले । उनले सुरुमा जुत्ता रंगाउने कम्पनिमा काम गरे, त्यसपछि कानुनी सहायकका रुपमा र अदालतमा बोलिएका कुरालाई छोट्याएर लेख्ने काम गर्न थाले । २२ वर्षको उमेरमा उनी अदालती समाचार लेख्ने पत्रकार भए ।
  • चाल्र्स डार्बिनको पढाइ विद्यालय तहमा एकदमै नराम्रो देखेर उनका वुवाले उनलाई विद्यालयबाट छुटाएर भने, ‘तँलाई कुकुर र मुसा समात्ने काम मात्र आउँछ, तलाई आफैमाथि लाज लाग्नेछ र तेरो परिवारलाई पनि ।’ डार्बिनलाई औषधी विज्ञान पढ्नको लागि पठाइयो । पछि प्रशासन पढ्न पठाइएका डार्बिन पढाइमा भन्दा खेलाडीहरुसँग धेरै समय बिताउँथे । तर त्यतीञ्जेलमा उनी वैज्ञानिक बनिसकेका थिए ।
  • प्रख्यात नेपाली हाँस्य कलाकार हरिवंश आचार्य पनि एसएलसीमा फेल भएको भनेर उनले आफ्नो आत्मवृतान्त ‘चिना हराएको मानिस’ मा उल्लेख गरेका छन् । आफ्नो मेहेनत र कलाकारीताप्रतिको लगावको कारण आज नेपालकै महान कलाकारको रुपमा आफूलाई परिचित गराउन सफल बनेका छन् ।
  • यस्ता धेरै उदाहरणहरु हाम्रै वरीपरी छन् । त्यसैले परिक्षामा फेल हुनु असफल हुनु होइन । असफलता त त्यो हो, जब मानिसले परिक्षामा पास भएर पनि उन्नती गर्न सक्दैन ।
(इटहरीबाट प्रकाशित कलेज टाइम्स मासिक पत्रिकामा दुई वर्ष अघि प्रकाशित लेख ।)

Neplee

Developer

लेखहरुप्रति तपाईको टिप्पणीलाई स्वागत गर्छु ।

0 comments:

Post a Comment