'जहाँ सय बोतल बियर बिक्छ, त्यहाँ यौटा स्तरीय साहित्य बिक्दैन'

by 6:26 AM 0 comments

एउटा कार्यक्रममा पुगेको थिएँ। उनले मलाई देखेछन्, बोलाएर हपारे, 'हिमाल जी, हैन तपाईले मेरो एउटा अन्तर्वार्ता लिएका थियौ, त्यसपछि हरायौ त। आउने गर न हौ कहिलेकाहिँ।'

आजभन्दा झण्डै पाँच वर्षअघि पत्रकारिता सुरु गर्दै गर्दाको समयमा एक जना साथीसँग म उनको घर पुगेको थिएँ। ८४ वर्षे उनको कपाल फुलेर सेतै थियो। तर चुस्स दाह्री पालेर होचिमिन्ह जस्तै देखिने उनको सक्रिय साहित्यिक व्यक्तित्वले तानेर उनको घर पुर्याएको थियो हामीलाई। पुरानो काठको घरको भुईतल्लामा सानो कोठामा बसेका थिए उनै जीवी लुगुन। छेउमा सानो र्याक, र्याकमा वेद, संस्कृत, साहित्यमा आधारित पुस्तकहरु थिए। उनीसँग झण्डै तीन घण्टा कुरा भएको हुँदो हो, फर्कने बेलामा उनले पहेँलो सुन्तला दिएर बिदा गरेका थिए।

त्यसपछि कार्यक्रम हुँदी र बाटोमा उनीसँग बारम्बार जम्काभेट हुन्थ्यो। भेटमा उनले यसैगरी बोलाउँथे। आउँछु भनेर आश्वस्त पनि पार्थेँ। जाउँ कि भन्ने पनि लाग्थ्यो, तर लेख्न छाडिसकेका एक जना वयोवृद्ध श्रष्टालाई पत्रकारले भेट्नुको अर्थ उनको कुरा सुनिदिने मात्र होइन, केही लेखिदिनुपनि पर्छ। उनले भोगेको विगत, बाँचिरहेको वर्तमान र उनले कल्पना गरेको सुन्दर भविष्यको खाका उनकै शब्दमा उतारि पनि दिनुपर्छ। नत्र भेटको खास अर्थ हुन्न। किनकी भेट्न त उनले घर नजिकै दाउरा घाँस गर्ने धेरै छिमेकीलाई भेटिरहन्थे। तर उनी भन्थे, 'नबुझ्नेलाई सुनाएर के गर्नु?' तर उनका कुरा बुझिदिन उनको र मेरो घरको बिचमा रहेको टेंग्रा खोला मेरालागि बाधक बन्यो शायद।

त्यो दिन उनलाई भेटेपछि बिच बिचमा आउँछु भनेर पनि नगएकोमा आफैलाई लाज लाग्यो।  'डाँडामाथिको घाम भएँ, बुढो शरीर जुनसुकै बेला जे पनि हुन सक्छ,' कार्यक्रमबाट हिड्ने बेलामा उनले गम्भीर मुद्रामा भने, 'मेरो अन्तर्वार्ता लिइराख, काम लाग्छ।' मैले उनको घर जसरी पनि पुग्ने सोचेँ।  चुपचाप टाउको हल्लाएँ र उनको कानै नजिकै गएर भनेँ, 'हुन्छ भोलि।'

भोलिपल्ट उनको घरमा फोन गरेँ। उनले भने, 'राम्रो सुन्दिँन, अहिले एउटा मिटिङ छ, दिउँसो बजारतिर भेटौं है।' तर उनले मोबाइल नबोक्ने हुँदा तीन वर्षपछि जुर्न लागेको यौटा साइत गुम्यो। त्यसको तीन चार दिनपछि उनैले फोन गरेर बोलाए। घरैमा थिएँ, कुदेर गएँ।
...
उनी अहिले एक तले पक्की घरमा बस्छन्। उनको आफ्नै कोठा छ। उस्तै सानो। छेउमा खाट, टेबल, अनि ग्याँस चुल्हो। मन लागेको बेलामा आफ्नो खान्की आफै बनाउँछन्। पाँच वर्षअघि उनी कपाल सेतै फुलेका वृद्ध थिए तर आजकाल त झन् जवान भएछन्। बिहानै मर्निङ वाकमा निस्कन्छन्। दिउँसो कार्यक्रमहरुमा बोलावट भए लौरो टेकेर भएपनि पुग्छन्। पढ्न र लेख्न उनले उतिखेरै छोडिसकेका थिए। पढ्नैपर्ने भए पावरवाला चस्मा लगाएर अक्षर केलाउँछन्।
...
१९८४ सालमा भोजपुरको विकट गाउँमा जन्मेका उनी दोस्रो विश्वयुद्धताका बेलायती सेनामा भर्ती भए । त्यतीखेर उनी १६ वर्षका थिए। उनले भारतको पञ्जाबस्थित बेलायती सेनाको क्याम्पमा तालिम लिए। बर्मा, मलेसिया हुँदै सिंगापुरको पल्टनमा बसेर काम गरे। १४ वर्षको उमेरदेखि हलो चलाउन थालेका लुगुनले पढ्न लेख्न पनि पल्टनमै सिके। 

विद्यालय खुलेपछि उनको गाउँले २००७ सालपछि मात्र शिक्षाको उज्यालो देख्न पायो।

यौटा अध्याँरो गाउँबाट निस्केका उनले आफ्नै बलबुतामा लेख्न, पढ्न सिके। अक्षरहरुले सपनामा समेत कुत्कुत्याएपछि रात दिन पढे। नेपालीमात्र होइन, अंग्रेजी भाषाका पुस्तक, वेद, दर्शन र किँरात लिपीसमेत कोट्याए। क्याम्पस त परै छाडौं, विद्यालयसमेत नटेकेका उनले स्वअध्ययनकै भरमा १० वटा किताब लेखेका छन्।

उनको यही प्रतिभा अद्वितीय छ। त्यसैले उनलाई पढेका विद्वान साहित्यकारहरुले पनि मान्छन्। उनी गर्वका साथ भन्छन्, 'डिग्री गर्नेहरुले पनि मलाई सर भन्छन्।'
...
दश वर्ष बेलायती सेनामा रहँदा उनले गाडी चलाए, वायरलेस अपरेटरको रुपमा काम गरे। युवा अवस्थामा अत्यन्त रसिक स्वभावका उनले सिंगापुरमा छँदा विदेशी युवतीहरुलाई प्रेमपत्र लेखे। प्रेमपत्र आदानप्रदानले उनको अंग्रेजी पनि सुधार्यो। नेपाल फर्केर पनि होटल खोले, बस चलाए। 
१० वर्ष युद्ध लडेका उनलाई २०२१ सालतिर रोगले लडायो। 

क्षयरोग लागेपछि अस्पतालमा एक वर्ष बसेर उपचार गराए। थलिएको बेलामा समय बिताउन लाइब्रेरीमा पाइएजति सबै किताब पढे। त्यसले उनलाई लेख्ने प्रेरणामात्र दिएन, बरु राम्रो लेखनशैली सिकायो पनि। उनले मनग्ये पुस्तक पढे। उनलाई लाग्थ्यो, साहित्य समाजको लागि प्रेरक हुनुपर्छ, कुरीती हटाउने हुनुपर्छ। त्यसैले उनले लेखेका कृतिमध्ये एउटा कविता संग्रह र एउटा आत्म वृतान्तबाहेक सबै वेद, दर्शन, साहित्य तथा संस्कृतीसम्बन्धि खोजमुलक पुस्तकहरु छन्। 
...
घडीको सुई एउटै दिशामा घुम्छ, पानी ओह्रालो तिरै बग्छ, तर उनको जीवन न सधैं घडीको सुईकै दिशामा घुम्यो, न त ओह्रालो मात्रै झर्यो। कहिले मन मष्तिष्कको दास भएर त कहिले उनीहरुलाई नै कज्याएर उनी एक शताब्दी जिन्दगी बाँच्न दौडिरहेका छन्।

सेनाको जागिर छोडेपछि उनले दार्जेलिंङमा क्यामेरा चलाउन सिके। क्यामेरा बोकेर उनी धरान जाँदै थिए, इटहरीमै रोकिए। फोटो स्टुडियो चलाए, डुब्यो। त्यसपछि उनले भर्खर ग्राभेल गरिएको कोशी राजमार्गमा गाडी कुदाए, इटहरीमा बस्ती बसाउने क्रममा झोडा फाँडे, अनि इटहरीमै त्यो बेलाको सबैभन्दा स्तरीय होटलसमेत चलाए। संघर्षले भरिएपनि उनको जीवन रंगीन थियो, तर विवाहको सम्बन्धमा भने उनी अभागि ठहरीए। 

उनले चार वटा विवाह गरेपनि अहिले कुनैपनि जीवनसंगीनी उनीसँग छैनन्। पहिलो श्रीमतीबाट सन्तान भएनन्, दोस्री श्रीमती एउटा सन्तान पाएको केही समयपछि खसिन्, तेस्री र चौथी श्रीमतीले उनलाई छाडेर गए। अहिले घरमा छोरा, बुहारी छन्।
...
ढिलै अक्षर चिनेकोले अक्षरहरुसँग उनको घनिष्ठता ढिलै सुरु भयो। होटल गर्दै गर्दाको समयमा २०२४ सालतिर ४० वर्षको उमेरमा मात्र उनको पहिलो कविता छापियो, 'ड्राइभरको जीवनी'। साहित्यकार रमेश विष्टको सम्पादनमा इटहरीबाट प्रकाशित झुत्तो नामक कविता संग्रहमा कविता प्रकाशित भएपछि एउटा लाहुरे र ड्राइभरभित्रको साहित्यीक व्यक्तित्व बाहिर आयो। अहिले त्यो लाहुरे, त्यो ड्राइभर, त्यो होटल चालक जीवी लुगुनलाई कमैले चिन्छन्, जति साहित्यकार जीवी लुगुनलाई चिन्छन्।
...
उनको पुस्तक लेखन साहित्यभन्दा पनि खोज र अनुसन्धानमा बढी केन्द्रित छ। २०२७ सालमा साकेला उभौली नामक राई जातिको संस्कृतीलाई प्रकाश पार्ने किताब प्रकाशित गरेका उनले त्यसपछि लगातार पुस्तकहरु लेखिरहे। उनले पछिल्लो समय हिन्दु धर्मको विश्लेषणात्मक टिप्पणी र बुद्धको महानता अक्षय निधि समेत लेखे। यतिधेरै पुस्तक लेखेर पनि उनी व्याकरणमा भने कमजोर छन्। 

उनी व्याकरणलाई उती महत्व दिँदैनन्। भाषा भए पुग्छ भन्छन्। त्यसैले एउटै व्यक्तिलाई तिमी र तपाई एकैपटक भनिदिन्छन्। व्याकरण सच्याऊ भन्नेहरुसँग उनी प्रश्न गर्छन्, 'भाषा पहिले आयो कि व्याकरण?' सल्लाह दिने चुप लाग्छन्।
...
लुगुन क्रान्तिकारी विचार व्यक्त गर्छन्। अहिलेको साहित्य ट्रेण्ड उनलाइृ पटक्कै मन परेको छैन। 'साहित्य त्यस्तो हुनुपर्छ, जसले हृदय पगालोस्, मन छोओस्, अनि प्रेरणा दिने र विकृती हटाउने होस्,' उनी भन्छन्।
कुनै विश्वविद्यालयमा नपढेपनि उनी स्वअध्ययनबाटै पूर्वीय र पश्चिमी साहित्यको भेद छुट्याउँछन्। भन्छन्, पूर्वीय साहित्य साहित्य रामायण र महाभारत जस्ता काल्पनिक साहित्यमा आधारित पुर्वीय समाज भन्दा ओडिसी र एलिएटमा आधारित पश्चिमी समाजले छिटो प्रगती गर्यो, यसमा उनीहरुले पछ्याएको यथार्थवादी साहित्यको हात छ। भन्छन्, 'महाभारत र रामायणजस्ता कल्पनाका साहित्यभन्दा पनि भारवी र चारुबाघ अगाडी ल्याइएको भए नेपालको विकास चाँडो हुने थियो।' 

उनको इच्छाशक्ति बडो अचम्मको छ। पेन्सन थापेर साथीभाईलाई लडाईका किस्सा सुनाउने लाहुरेहरुभन्दा उनी पृथक छन्। यसकारण कि उनले किस्सा सुनाएनन्, बरु धेरै साहित्यकारलाई अभिव्यक्तिको मञ्च बनाइदिन कोशिस गरे। 

उनले अच्छा राई रसिक साहित्य प्रतिष्ठान स्थापना गरेर १९ वर्ष नेतृत्व गरे। उनले कार्यक्रम नगरेको कुनै अवसर हुँदैनथ्यो। पढ्न, लेख्नै नसक्ने भएपछि अहिले उनले सो संस्था इटहरीका शिक्षासेवी लेखनाथ घिमिरेलाई अध्यक्षको रुपमा जिम्मा लाएका छन्। जीवनको अन्तिम अवस्थासम्म पनि पद नछाड्ने गान्धी, नेहरु, लेलिनलगायत नेताको प्रवृत्तीप्रति पुरापुर असहमती छ उनको।

उनी इटहरीको साहित्यिक गतिविधिलाई लिएर खुसी छन्। हप्तैपिच्छे भइरहेका कवि गोष्ठी र साहित्यीक कार्यक्रमलाई नगरपालिकाले सहयोग गर्नुपर्ने उनी माग गर्छन्। आफूले पहिलो पुस्तक चन्दा उठाएर प्रकाशन गरेको बताउने उनको पुस्तक बेच्ने पनि आफ्नै तरिका थियो। उनी आफूले खोलेको होटलमा आएका आफ्ना सहकर्मीहरुलाई आफ्ना पुस्तक भिडाउँथे। होटल चलाएर रक्सी बेचेका उनी ज्ञान दिने पुस्तक नबिकेको तितो अनुभव आजपनि ओकल्छन्, 'जहाँ सय बोतल बियर बिक्छ, त्यहाँ एउटा पनि स्तरीय साहित्य बिक्दैन।'

उनले अहिले आफ्नै नाममा संस्था खोलेका छन्, लुगुन साहित्य प्रतिष्ठान। पाँच लाखको अक्षयकोष खडा गरी ब्याजबाट साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान दिनेलाई वार्षिक १० हजार रुपैयाको पुरस्कार तथा अभिनन्दन दिने योजना छ उनको।
...
लुगुनसँग जीवन भोगाईका तिता मिठा अनुभवहरु प्रशस्त छन्। धेरै साहित्यकारहरु शब्दकोष पल्टाएर गाह्रा शब्द प्रयोग गर्छन्, तर लुगूनले भने गाह्रा पुस्तक पढेर सरल पुस्तक छापे। उनको जीवनशैली पनि सरल छ, तर फोटो खिँच्दा भने झिल्के देखिन रुचाउँछन्। लामो कपाल मिलाएर कोरेका छन्।

राम्रो सुन्न, पढ्न नसकेपनि उनी साहित्यिक कार्यक्रमहरु अक्सर छुटाउँदैनन्। घरदेखि इटहरी चौकसम्मको तीन किलोमिटर बाटो पैदल आउजाउ गर्छन्। भन्छन्, 'टाउकोले टेकेर पनि पुग्छु।' लेख्न छाडेपनि उनी साहित्यिक पुस्तक विमोचनहरुमा पुग्छन्। सम्मान लिन्छन् र अर्ती बाँड्छन्। उनको अर्ती उत्प्रेरक हुन्छ, खारिएर निस्केको हिराजस्तो।

कार्यक्रम नहुँदा र बिरामी भएर हिड्न नसक्दा दिनभरी घर बस्दा दिक्क लाग्छ रे उनलाई। फर्कने बेलामा मलाई फेरी अर्को निम्तो दिँदै थिए, 'दिनभरी एक्लै हुन्छु, तपाई कहिलेकाहिँ आउने गर न।'


सेतोपाटीमा भाद्र २१, २०७१ मा प्रकाशित 

(औपचारिक शिक्षा नलिएपनि दर्शन, साहित्यका किताबहरु लेख्ने उनको जीवन प्रेरणादायी भएकाले यहाँ समेटिएको हो ।)

Neplee

Developer

लेखहरुप्रति तपाईको टिप्पणीलाई स्वागत गर्छु ।

0 comments:

Post a Comment