श्रष्टाहरुले हस्तक्षेपविरुद्ध आगो ओकले

by 7:28 PM 0 comments


भारतको हस्तक्षेप र नाकाबन्दीको विरोधमा इटहरीका श्रष्टाहरुले आगो ओकलेका छन् । राष्ट्रियताको पक्षमा स्वाधिन आवाज कार्यक्रम गर्दै सुनसरी श्रष्टा मञ्चको कार्यक्रममार्फत् श्रष्टाहरुले कविता, गीत र गजलमार्फत् भारतीय हस्तक्षेप र विस्तारवादको विरोध गरेका हुन् ।
कार्यक्रममा कवि मनु मञ्जिलले ‘मोदीले अमेरिकामा तीन वटा बिग ब्लो खाए’ भन्दै मोदीलाई कालो झण्डा देखाइएको, संयुक्त राष्ट्रसंघले संविधानको स्वागत गरेको र भारतले सुरक्षा परिषद्मा ठाउँ नपाएको प्रसंग उल्लेख गरे ।
‘नजिकका स साना सुन्दर मित्रहरुलाई सधैं हेप्ने मानिसहरुले अग्लो कुर्सी पाउनु हुँदैन, गड ब्लेस हिम ।’
भन्दै उनले ‘दुई देश संवाद’ शीर्षकको कविता यसरी सुनाए :
तिमी स स्याना कुराले बनेको साह्रै ठूलो देश
हामी ठूल्ठूला कुराले बनेको यौटा सानो देश

तिमीलाई आफ्नै मरुभूमीले चुसिरहेछ ।
तिमीलाई आफ्नै नीचताले पिटिरहेछ ।
इतिहासभरी दास भएर, इतिहासभरी लास भएर बाँचेका तिमी
साह्रै सस्याना कुराले बनेको साह्रै ठूलो देश

संसारका अनेक उच्च हिमाल
हिमालहरुका हिमाल सगरमाथा
मानिसहरुका मानिस गौतमबुद्ध
रानीहरुकी रानी जानकी
कैल्यै नहारेको इतिहास, कैल्यै नझुकेको आत्मबोध 
यिनै ठूल्ठूला कुराले बनेको हाम्रो यौटा सानो देश

तिमी आफ्नै समुद्रमा रोएर बस 
आफ्नै मरुभूमीमा चिच्याएर बस 
आफ्नै माग्ने छोराछोरीलाई हारेको इतिहास घोकाएर बस
तिम्रा आफ्नै नर्कहरु छन्, त्यही अब आहाल बस
तिम्रा आफ्नै लुतोहरु छन् घाममा कन्याएर बस

हामीले तिमीलाई स्वतन्त्रता दिलायौं
रगत दिएर सुरक्षा दिलायौं
नदी दिएर पानी पिलायौं
साथी सम्झेर छाती मिलायौं

तिम्रो नीचता कैल्यै मरेन
तिम्रो घृणा कैल्यै घटेन
तिम्रो ठूलो शरीरभित्र हृदय कहिँ अटेन

सधैं अरुलाई डस्नुपर्ने
अर्काको जुत्तामा बस्नुपर्ने
मध्यरात वा मध्य दिन 
अर्काको घर पस्नुपर्ने
जगतको आँखाबाट सधैं सधैं खस्नुपर्ने
घृणाले विशाल नीचतै नीचताले विशाल
झुटै झुटले विशाल
लुटको धनले विशाल
वालुवाले विशाल
क्रुरताले विशाल

मैले सधैं माया गरेको परदेशी,
सगरमाथा तिमीलाई हेर्नु चाहँदैन
बुद्ध तिमीलाई देख्नु चाहँदैन ।
तिमी आफ्नै समुद्रमा रोएर बस 
आफ्नै मरुभूमीमा चिच्याएर बस 
आफ्नै माग्ने छोराछोरीलाई हारेको इतिहास पढाएर बस
तिम्रा आफ्नै नर्कहरु छन्, त्यही गएर आहाल बस
तिम्रा आफ्नै लुतोहरु छन् घाममा कन्याएर बस

आन्दोलनको लागि भारतीय सहयोग लिएका मधेसी दलहरुविरुद्ध साहित्यकार तथा पत्रकार कृष्णविनोद लम्सालले यसो भने :
... तर एकाएक बेइमान गरेर हामीलाई पिछलग्गू र उल्लु बनाएर तिमी सत्ता स्वार्थको जंगलमा फँस्यौ
बर्बाद गाउँलाई बिर्सेर सहर मै बस्यौ
अवसर प्राप्तीको जोड घटाउ गर्दै आफ्ना कित्ता निर्माण गर्न लाग्यौ 
अहिले फेरी संघीयताको सीमांकन मिलाउन जिन्दावाद मुर्दावाद बोलिरहेछौ
सरकारी कार्यालय पोलिरहेछौ, निषेधाज्ञा तोडिरहेछौ 
यो उत्कर्षलाई तिमीले राष्ट्रियताको मुठ्ठीमा कस्न सकेनौ
र विखण्डनकारी विस्तारवादको मतियार बनेर 
नेपालीको चुल्हो बल्न नदिने दशगजा नीति लियौ ...

भारतीय विस्तारवाद प्रवृत्ती र नेपालका प्राकृतिक सम्पदाको प्रयोगमा उसले देखाउने गरेको चासोलाई सरस्वती न्यौपानेले यसरी खुलासा गरीन् :
विस्तारवादको संगीन हाम्रो छातीमा गाडिदैछ ।
अस्तीत्व हाम्रो हामीसामु हामीबाटै हाम्रै कारण खोसिँदैछ ।
सुस्ता, कालापनी मानेभञ्ज्याङको ताजा तातो रगत बग्दैछ ।
कोशी खाई काली सकेर अब त सेती पनि ताक्दैछ ।

‘हामीले हाम्रो संविधान बनाइरहँदा उसले गर्ने कि हामीले गर्ने ?’ भन्दै मीना श्रेष्ठ भारतमाथि नै नाकाबन्दी गर्न आह्वान गर्छिन् :
आऊ अब नाकाबन्दी गरौं
सुनदेखि नुनसम्म हलोदेखि हाइड्रोसम्म सबै कुरा भर प¥यौं
जे गरे नि जसो गरे नि परनिर्भर भयौं
हेप्न सम्म हेप्यो अब 
भो अब सहिन्न
हेपाइ सुन्दा रगतै उम्लिन्छ
शरीरका नशाहरु भक्भक तातिन खोज्छ 
घरघरबाट चुल्हो चुल्हो बाट भान्सा कोठाबाट, टिभीको च्यानलबाट 
भो यिनलाई नाकाबन्दी गरौं
भो यिनलाई गृहप्रवेश निषेध गरौं ।

बारम्बारको बन्द र आन्दोलनले दिक्क लगाएको नेपालीको भावलाई अन्जु गौतमले गीतमार्फत् यसरी पोखिन् :
देश रहे नि लै ले हामी रहौंला
मातृभूमीको हस्तक्षेप कहाँ सहौंला
भूकम्प र बाढी पैरो, पीडा देशै भारी
बाटो स्कुल कलकारखाना बन्द घरी घरी
पीर प¥यो नि लै लै गरीब दुःखीलाई 
आन्दोलनले बिगा¥यो है हामी सबैलाई

आन्दोलन र मागहरुबारे थाहै नभएका व्यक्ति र शान्तीपूर्णको नाममा हतियार बोकेर आन्दोलन गर्ने आन्दोलनकारीविरुद्ध विवश पोख्रेल यसरी खनिए :
विचराहरुलाई थाहा छैन संघीयताको अर्थ
अनाहक जुलुसमा डढेर काला भएका छन्
भन्छन्, यो शान्तीपूर्ण आन्दोलन हो
अचम्म जस्को शान्ती अस्त्र भने 
लाठि, मुंग्रो र भाला भएका छन् 

टिका आत्रेयले नेपालका नदीहरुले भारतीय भूमी सिँचाई गर्नु पनि गल्ती भएको बताइन् :
थोपा थोपा बटुलिएर हरियो नबनाइदेऊ उसको छाती
जसले तिम्रो धड्कन थुनिदिएको छ 
गल्ती भयो कर्णाली ओह्रालो बगेर
भूल भयो कोशी दक्षिण झरेर

यता कवि प्रल्हाद पहरेदारले भारतको चरीत्र र भारतीय भूमी प्रयोग गरी आन्दोलन गर्ने आन्दोलनकारी चरीत्रमाथि छन्दमा यसरी तिखो आलोचना गरे :
जुको बनेर चुस्छ ऊ 
बनेर सर्प डस्छ ऊ
सियो बनेर पस्छ ऊ
लिसो बनेर बस्छ ऊ

ऊ दाउ हेर्छ आफ्नो नै विचार लाद्न पाइने
महत्वपूर्ण ठाउँ फेरी मोदीलाई चाहिने
प्रयोग गर्छ माग राख्न भारतीय भूमी जो
चुल्हो निभाई राष्ट्रको निकाण्ड हाँस्न सक्छ जो
(आफ्नो लागि प्रयोग गर्दा स्रोत अनिवार्य खुलाउनुहोस् ।)

Neplee

Developer

लेखहरुप्रति तपाईको टिप्पणीलाई स्वागत गर्छु ।

0 comments:

Post a Comment